close

इन्स्टाग्राम प्रतिबन्धपछि ‘रोसग्राम’ ल्याउँदै रूस

टेकपाना टेकपाना

चैत ३, २०७८ १५:५१

इन्स्टाग्राम प्रतिबन्धपछि ‘रोसग्राम’ ल्याउँदै रूस

काठमाडौं । रूस सरकारले केही दिनअघि मात्रै सामाजिक सञ्जाल इन्स्टाग्रामलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ । यसको एक हप्ता नबित्दै रूसका प्रविधि उद्यमीले नयाँ फोटो शेयरिङ एप सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

रुसमा इन्स्टाग्रामका आठ करोड प्रयोगकर्ता थिए । विशेषगरी त्यहाँका कम्पनी एवं अन्य व्यवसायीले इन्स्टाग्रामबाटै आफ्ना वस्तु तथा सेवाको विज्ञापन तथा प्रवर्दन, बिक्री वितरण गर्नुका साथै ग्राहकसँग सञ्चार गर्दै आएका थिए ।

इन्स्टाग्राम प्रतिबन्धमा परेपछि त्यसको ठाउँ भर्न रूसका स्थानीय प्रविधि उद्यमीहरूले वैकल्पिक फोटो शेयरिङ एप ल्याउन लागेका हुन् । यो एपको नाम रोसग्राम राखिने भएको छ ।

रूसी बजारका लागि ल्याउन लागिएको यो एप मार्च २८ मा सार्वजनिक हुनेछ । जानकारीमा आए अनुसार यो एपमा इन्स्टाग्राममा नभएका केही नयाँ फिचरसमेत समावेश हुनेछ ।

यसअघि इन्स्टाग्रामको प्यारेन्ट कम्पनी मेटाले केही देशका फेसबुक र इन्स्टाग्राम प्रयोगकर्तालाई युक्रेनमाथिको आक्रमणको विषयलाई लिएर रुसी सैनिक विरुद्ध हिंसामा उत्रिनका लागि आह्वान गर्न छुट दिने निर्णय गरेसँगै रुसले इन्स्टाग्राममाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३