काठमाडौं । एलन मस्कको कम्पनी टेस्लाले एक कर्मचारीलाई बर्खास्त गरेको छ । विश्वकै ठूलो विद्युतीय गाडी निर्मातासमेत रहेको टेस्लाले अटोपाइलट कर्मचारी जोन बर्नाललाई कम्पनीबाट निकालेको हो ।
कम्पनीले बर्खास्तीबारे वास्तविक कारण खुलाएको त छैन । तर बर्नालले आफ्नो युट्युव च्यानलमा अपलोड गरेका केही भिडिओका कारण टेस्लाले कारबाही स्वरूप कम्पनीबाट निकालेको अड्कल गरिएको छ ।
ती कर्मचारीले टेस्ला फुल सेल्फ-ड्राइभिङ (एफएसडी) बेटाको रिभ्यु गरेर आफ्नो युट्युव च्यानलमा राखेका थिए । उनले आफ्नो युट्युव च्यानल एआई एडिक्टमा बेटा भर्जनको सेल्फ ड्राइभिङ सिस्टमले सिलिकन भ्यालीका फरक-फरक लोकेसनमा कसरी काम गर्छ भन्नेबारे भिडिओ अपलोड गरेका थिए ।
उनी फेब्रुअरी ११ मा कम्पनीबाट बर्खास्तीमा परेका थिए । त्यसको एक साताअघि उनले ‘टेस्ला फुल सेल्फ-ड्राइभिङ क्र्याश’ शीर्षकमा युट्युव भिडिओ अपलोड गरेका थिए ।
यो भिडिओपछि टेस्ला कम्पनी उनीसँग चिढिएको थियो भने सही रिभ्यु गरेको भन्दै मानिसहरुबाट उनले स्याबासी पाएका थिए ।
एफएसडी बेटाको रिभ्यु नकारात्मक गरेकै कारण उनी कम्पनीबाट निकालिएको चर्चा गरिएको छ ।
कम्पनीले उनलाई कामबाट निकाल्नुका साथै उनको व्यक्तिगत गाडी टेस्ला मोडेल ३ बाट एफएसडी बेटा (FSD Beta) को सम्पूर्ण एक्सेस हटाइसकेको छ ।
यसका बावजुद पनि सो कारको सफ्टवेयरमा कुनै प्रकारको सेफ्टी स्ट्राइक आएको छैन । कार बिक्री भइसकेपछि आफ्नो स्वायत्ततामा नरहेको भन्दै टेस्लाले सो गाडिमा भएको एफएसडी (टेस्लाको प्रिमियम ड्राइभर असिस्टेन्स सफ्टवेयर) त्यसैमा छाडिदिएको हो ।
एफएसडी बेटा अप्सन पूर्ण रूपमा सम्पन्न नभइसकेको नयाँ ड्राइभर असिस्टेन्स फिचरका लागि सबैभन्दा उपयुक्त सारांश हुनसक्छ । यसमध्येको सबैभन्दा प्रमुख फिचर ‘अटोस्टिर अन सिटी स्ट्रिट’ (Autosteer on city street) हो ।
यसको माध्यमबाट ड्राइभरले स्टेरिङ नछोइकन जटिल सहरी वातावरणमा सहजै कार चलाउन सक्नेछन् । यसका लागि सबैभन्दा पहिले गाडिमा एफएसडी हुन आवश्यक छ । जसका लागि मासिक १९९ डलर वा एडभान्समा १२००० डलर तिरे पुग्ने व्यवस्था छ ।
टेस्ला सफ्टवेयरका अनुसार यो इन्स्टल भइसकेपछि गाडीमा उच्च ड्राइभर सुरक्षा पाउन र व्यवस्थापन गर्न सकिन्छ । टेस्लाले बर्नाललाई रिभ्यु (समीक्षा) गरेकै भरमा बर्खास्त गरेको भन्ने कतै उल्लेख नगरे पनि उनले बफादारी नदेखाएको भएर निकालिएको आशंका गर्न सकिन्छ ।
टेस्ला लगायत सिलिकन भ्याली कम्पनीहरूले बफादारिताको संस्कारलाई निकै प्राथमिकता दिने गरेका छन् । कम्पनीमा भएका आलोचनाहरू बाहिर सार्वजनिक गर्नु बफादारिताको विपरीतमा जाने उनीहरूको बुझाइ छ ।
बर्नालले पनि कम्पनीले यही कारणले आफूलाई निकालिएको भनेर कतै उल्लेख गरेका छैनन् । यद्यपि उनको युट्युवमा भएको भिडिओलाई आधार बनाउने हो भने उनलाई निकाल्नुको कारण उनले गरेको रिभ्यु नै हो भन्ने यकिन गर्न सकिन्छ ।
सन् २०२१ मार्चमा बर्लानले अपलोड गरेको एक भिडिओमा कारले थुप्रै अस्वभाविक घटना सामना गरेको देखाइएको थियो । सो भिडिओको ११ मिनेट ५८ सेकेन्डमा खतराबाट बच्न बर्नालले स्टेरिङ आफ्नो कन्ट्रोलमा लिएका थिए ।
सीएनबीसीले गरेको अनुसन्धानमा बर्नालले अपलोड गरेका ६० वटा भिडिओमध्ये १० वाट भिडिओमा टेस्लाका कमजोरी र नकारात्मक कुराबारे चर्चा गरिएको छ ।
एफएसडी बेटाको एक्सेस निकाली दिएपछि सिस्टमबारे उनले दिने रिभ्युमा कमी आइरहेको छ । उनको व्यक्तिगत गाडीमा त्यो सिस्टम नभए पनि आफूले अन्य व्यक्तिको गाडी प्रयोग गरेर सो सिस्टमबारे रिभ्यु गरिरहने उनले जनाएका छन् ।
कम्पनीका संस्थापक एलन मस्कले आफूलाई स्वतन्त्रता अभिव्यक्ति निरपेक्षवादीका रूपमा प्रस्तुत गर्ने गर्छन् । तर उनकाे कर्मचारीकाे हकमा भने याे लागू भएन ।
आफ्ना ग्राहक र कर्मचारीलाई गाडीमा आएका समस्या सार्वजानिक रूपमा नभनेर कम्पनीमा आई त्यसबारे छलफल गर्नुपर्ने व्यवस्था ल्याएको छ ।
कम्पनी बाहिर गई कम्पनी वा कम्पनीका उत्पादनको आलोचना गर्नु त्यसको नियमविपरीत ठहरिएको हुनाले उनलाई निकालिएको आशंका गरिएकाे छ ।
त्यसभन्दा पहिले पनि एलन मस्कले आफ्नो स्टार्टअप कम्पनी एक्स डटकमबाट विपक्षी कम्पनीको समर्थन गरेको भन्दै केही कर्मचारीलाई बर्खास्त गरेका थिए ।