close

जोडी मिलाउने र विवाह गराउने शादी डटकम, यसरी बन्यो अढाई खर्बको कम्पनी

टेकपाना टेकपाना

चैत ३, २०७८ १६:४८

जोडी मिलाउने र विवाह गराउने शादी डटकम, यसरी बन्यो अढाई खर्बको कम्पनी

काठमाडौं । भनिन्छ, ठूला-ठूला कामको सुरुवात स-साना सोचबाटै हुने गर्दछ । विवाह सम्बन्धी भारतीय वेबसाइट शादी डटकमको सुरुवात पनि करिब यसैगरी सुरु भएको थियो ।

वास्तवमा प्रसिद्ध उद्यमी अनुपम मित्तलको भेटघाट मानिसहरूको कुण्डली मिलाउने एक पण्डितसँग भयो । अचानक उनको दिमागमा एउटा यस्तो सोच आयो, यो सबै प्रक्रियालाई नै इन्टरनेटसँग जोडेर अनलाइन किन नबनाउने ?

यसरी सानो सोचबाटै अहिलेको लोकप्रिय अनलाइन विवाह तथा जोडी कायम गराउने शादी डटकमको सुरुवात भयो । जसले भारतको विवाह सम्बन्धी उद्योग क्षेत्रलाई नै परिवर्तन गरिदिएको छ । वास्तवमा शादी डटकम र यसको मुख्य प्रतिस्पर्धी भारत मेट्रिमोनीको सुरुवात लगभग एकैसाथ भएको हो ।

तर शादी डटकम आफ्ना सबै प्रतिस्पर्धीलाई निकै पछाडि पार्दै सन् २००८ मा विश्वकै नेतृत्वदायी मेट्रीमोनी (विवाह सम्बन्धी) वेबसाइट बन्न पुग्यो ।

हालको समयमा यसले भारतमा मात्रै ‘म्याचमेकिङ’ (जोडी कायम गर्ने) बजारमा ४० प्रतिशत हिस्सा ओगटेको छ । सबैभन्दा रोचक कुरा त के छ भने शादी डटकमबाट जोडी बनेर विवाह गर्ने जोडीको सङ्ख्या ५० लाख नाघिसकेको छ ।

आज हामी शादी डटकमको सफलताको पछाडिको कारण र अन्य प्रतिस्पर्धीको तुलनामा यसलाई फरक पहिचान दिने व्यावसायिक रणनीतिको बारेमा चर्चा गर्दैछौँ ।

अनुपम मित्तलले सन् १९९७ को त्यस्तो समयमा शादी डटकम सुरु गरे, जतिखेर भारतका अधिकांश व्यक्तिहरूलाई इन्टरनेटको अर्थ समेत थाहा थिएन ।

तत्कालीन समयमा भारतमा डिजिटल क्रान्तिको सुरुवात हुँदै थियो । विस्तार विस्तारै मानिसहरू इन्टरनेटको बारेमा जानकारी पाउँदै थिए ।

हालै शार्क ट्याङ्क इन्डियामा शार्कको रुपमा देखिएका अनुपम मित्तल त्यतिखेर अमेरिकामा माइक्रो स्ट्राटेजी नामक एक बिजनेस इन्टेलिजेन्स सफ्टवेयर कम्पनीमा प्रडक्ट म्यानेजरको रुपमा काम गरिरहेका थिए ।

हुन त उनलाई जागिरको हिसाबले कुनै कमी थिएन । तर हरेक दिन एउटै काम गर्दा उनी दिक्दार भइसकेका थिए । त्यसैले उनी भारत फर्किएर आफ्नै कुनै व्यवसाय सुरु गर्न चाहन्थे ।

संयोगवश एक दिन अनुपम आफ्ना बुबासँग उनको अफिसमा बसिरहेका थिए । त्यसै बखत उनको भेट कुण्डली मिलाउने एक पण्डितसँग हुन पुग्यो । वास्तवमा ती पण्डित अनुपमका लागि केटीको कुरा ल्याएर आएका थिए ।

पण्डितसँग भेटेपछि अनुपमले थाहा पाए कि उनले कसरी घरघर पुगेर विवाहका लागि जोडी मिलाउने काम गर्दै आइरहेका छन् । तर अनुपमलाई त्यस बेला विवाह गर्नु थिएन । त्यसैले उनी ती पण्डितलाई आफ्नो पिछा गर्ने कार्यबाट अलग्याउन चाहन्थे ।

त्यसैबेला अचानक उनको मनमा एउटा त्यस्तै आइडिया (सोच तथा विचार) आयो, जसले उनको जीवनलाई नै सधैँका लागि परिवर्तन गरिदियो ।

वास्तवमा उनले सोचे कि युवायुवतीलाई परम्परागत रुपमा २० देखि २५ ओटा विकल्प मात्रै उपलब्ध हुने गरेका छन् । तिनै मध्ये एकलाई रोजेर उनीहरूले विवाह गर्नुपर्ने हुन्छ ।

त्यस्तोमा यो सबै प्रक्रियालाई अनलाइन बनाएर युवायुवतीका लागि नाता सम्बन्धका असीमित विकल्प किन तयार नपार्ने भन्ने सोच उनको मनमा आयो । 

यो आइडिया उनको दिमागमा यसरी गढेर बस्यो कि त्यसका लागि उनले आफ्नो जागिर छोडे र भारत फट्किए । यो सोचलाई वास्तविक रूप दिनका लागि सन् १९९७ मा उनले एउटा वेबसाइट बनाए ।

सगाई डटकम नामक वेबसाइटलाई उनले परीक्षण स्वरूप सार्वजनिक गरे । अनुपम चाहन्थे कि आफ्नो मेट्रिमोनियल वेबसाइट विश्वकै उत्कृष्ट मध्येको एक होस् । त्यसैले उनले आफ्नो सम्पूर्ण कमाईलाई वेबसाइट बनाउने काममा लगाइदिए ।

कयौँ वर्षको प्रयास पछि अनुपमको आशाले एउटा राम्रो जग तयार पार्‍यो । त्यसपछि उनले सन् १९९९ मा सगाई डटकमको नाम परिवर्तन गरेर शादी डटकम राखे ।

त्यसो त वेबसाइटको यो नाम राख्नका लागि उनले ठुलै रकम खर्च गर्नुपर्‍यो । किनकि यो डोमेन पहिले देखि नै अरु कसैले खरिद गरेर राखेको थियो । उक्त व्यक्ति निकै मुस्किलसँग ठूलो रकममा यो डोमेन बिक्री गर्न तयार भएको थियो ।

अनुपमको भनाईमा उनलाई यो डोमेन कुनै पनि मूल्यमा आवश्यक थियो । किन कि यो नाम सगाई डटकमको तुलनामा उनलाई निकै बजारयोग्य लागेको थियो ।

यसरी कयौँ कठिनाइ र ठूलो लगानीका साथ शादी डटकमको सुरुवात भयो । हुन त अझै पनि कतिपयलाई शादी डटकमले कसरी काम गर्छ भन्ने कुरा थाहा नुहुन सक्छ ।

शादी डटकम निकै साधारण माध्यम हो । जहाँ कुनै पनि व्यक्तिले सहजै आफ्नो जीवन साथी खोज्न सक्छ । यसका लागि सबैभन्दा पहिला वेबसाइटमा साइनअप गर्नुपर्ने हुन्छ । जहाँ प्रयोगकर्तालाई आफ्नो फोटो अपलोड गरेर नाम, उमेर, जात, उचाइ, योग्यता, पेशा लगायतका विवरण खुलाउनु पर्ने हुन्छ ।

यसका साथै हरेक प्रयोगकर्तालाई उसको रोजाइ तथा रुचिको विषय समेत सोधिन्छ । अर्थात् सम्बन्धित प्रयोगकर्तालाई कस्तो प्रकारको जीवन साथी चाहिन्छ भन्ने कुरा तय गर्न सकियोस् ।

त्यसै विवरणका आधारमा शादी डटकमले हरेक प्रयोगकर्ताका लागि उचित ‘म्याच’ खोज्ने काम गर्दछ । तर यसमा राखिने विवरण मध्ये सबैभन्दा महत्त्वपूर्ण फोटो हुन्छ ।

प्रयोगकर्ताले जब आफ्नो लागि ‘म्याच’ खोज्न थाल्छ, तब सबैभन्दा अघि उसको नजर फोटोमै जान्छ । त्यसैले यस्तो कुरामा निकै विचार गरिन्छ । ता कि कुनै पनि फोटो हानिकारक सामग्री वा कम्पनीको नीति विपरित नहोस् ।

यतिसम्म कि यसका लागि शादी डटकमले एउटा विशेष टिम नै बनाएको छ । जसले अपलोड गरिने हरेक फोटोको रिभ्यु गरेर उक्त फोटो वेबसाइटका लागि सान्दर्भिक छ कि छैन भन्ने कुरा चेकजाँच गर्दछ ।

सुरुवाती चरणमा जब प्रयोगकर्ताले जुन फोटो अपलोड गर्दथे, उक्त फोटो प्रोफाइलमा अपडेट हुन पाँच देखि छ घण्टासम्म लाग्ने गर्दथ्यो । किन कि पहिला यो सबै काम म्यानुअल (व्यक्तिले एक एक गर्दै चेकजाँच तथा स्वीकृत गर्ने परिपाटी) हुने गर्दथ्यो ।

तर शादी डटकममा अहिले यस्ता स्वचालित (अटोमेटेड) फिचर रहेका छन्, जसले फेक प्रोफाइल, जेन्डर मिसम्याच, असान्दर्भिक सामग्रीलाई तुरुन्तै पहिचान गर्न सक्छ । यस प्रकारका अटोमेटेड फिचरका कारण वेबसाइटमा फोटो स्क्रिनिङको समय ९५ प्रतिशतसम्म कम हुन पुग्छ ।

अब प्रश्न उठ्छ, यो सबै गराएर शादी डटकमलाई कसरी फाइदा हुन्छ ? अर्थात् कम्पनीले पैसा कसरी कमाउँछ ? वास्तवमा शादी डटकमको आम्दानीको तरिका एकदमै साधारण छ ।

जसले प्रयोगकर्तालाई विभिन्न प्रकारका प्रिमियम प्याकेज बिक्री गर्दछ । हुन त यो वेबसाइटमा रजिस्ट्रेसन निःशुल्क छ । जसले गर्दा व्यक्तिहरूले यसमा आफ्नो प्रोफाइल बनाएर बिना खर्च यसबाट आफ्नो लागि उचित ‘म्याच’ अर्थात् जोडी खोज्न सक्छन् ।

तर म्याच फेला परिसकेपछि उक्त व्यक्तिलाई सम्पर्क गर्नका लागि प्रयोगकर्ताले प्रिमियम सदस्यता लिनै पर्ने हुन्छ । शादी डटकममा हरेक दिन १२ देखि १५ हजार प्रयोगकर्ताले साइनअप गरिरहेका हुन्छन् । यस्तोमा समयसँगै जोडी फेला पर्ने र उनीहरूले आपसमा कुरा गर्ने दर लगातार बढ्दै जान्छ ।

यही सामान्य आम्दानीको शैलीमा अगाडि बढेको शादी डटकमको कूल सम्पत्ति करिब अढाई खर्ब पुगिसकेको छ । हुन त यस्ता कयौँ वेबसाइट आउने जाने क्रम चलिरहन्छ ।

तर शादी डटकममा त्यस्तो विशेष कुरा के थियो, जसले गर्दा यसले यति धेरै सफलता पाउन सक्यो ? शादी डटकमलाई यसका अन्य प्रतिस्पर्धीको तुलनामा भिन्न बनाउने एउटा विषय हो, यसको मार्केटिङ रणनीति ।

ग्राहक आकर्षित गर्न शादी डटकमले टेलिभिजन र पत्रपत्रिकामा विज्ञापन गर्नेदेखि लिएर डिजिटल मार्केटिङको सहयोग लियो ।

यसले समाजमा विद्यमान दाइजो र विवाह सम्बन्धी अन्य समस्या समाधान गर्नका लागि समय समयमा अनेक प्रकारका पहल समेत गर्दै आइरहेको छ । जसले गर्दा निःशुल्क रुपमा यसको विज्ञापन चलिरहन्छ ।

यस बाहेक कम्पनीले अभियानको रुपमा बाल विवाह, दाइजोका कारण हुने मृत्यु, महिला ससक्तिकरण जस्ता सामाजिक मुद्दामा सचेतना फैलाउने जस्ता काम गर्दै आएको छ । जसका कारण सामाजिक सञ्जालमा शादी डटकमको इन्गेजमेन्ट निकै धेरै हुने गर्दछ ।

दाइजो उत्पीडनको बारेमा जागरुकता फैलाउन भन्दै शादी डटकमले सन् २०१२ मा ‘एङ्ग्री ब्राइड’ नामक एक अनलाइन सोसल मिडिया गेम सार्वजनिक गरेको थियो । जसलाई ३५ देशका छ लाखभन्दा धेरैले साथ दिएका थिए  ।

यस बाहेक दाइजो प्रथाका कारण हुने मृत्युको विषयमा मानिसहरूलाई जागरुक गर्नका लागि यो कम्पनीले आफ्नो वेबसाइटमा ‘डाउरी क्याल्कुलेटर’ नामक फिचर ल्याइसकेको छ । जब तपाईँले यो फिचर प्रयोग गर्नुहुन्छ, तब यसले व्यक्तिको योग्यता, र आम्दानीको आधारमा उनीहरूलाई प्राप्त हुनसक्ने मूल्य बताउने बाचा गर्दछ ।

तर जब प्रयोगकर्ताले आफ्नो जानकारी राखिसकेपछि क्याल्कुलेटरको बटन थिच्ने प्रयास गर्दछन्, त्यसपछि दाइजोका कारण हुने मृत्युको आँकडा देखाउदछ ।

यस प्रकारका अभियानले मानिसहरूमा जनचेतना त बढ्ने नै भयो, साथसाथै ब्रान्डको राम्रो प्रमोसन समेत हुने गर्छ ।

यस बाहेक सामाजिक सञ्जालको ट्रेन्डमा छायिरहनुका लागि शादी डटकमले समय समयमा विभिन्न क्याम्पेन समेत चलाइरहेको हुन्छ । जहाँ केही समय अघि लैङ्गिक समानताको मुद्दालाई लिएर सञ्चालन गरिएको ‘फास्ट फर हर’ (#FastForHer) नामक क्याम्पेन निकै लोकप्रिय बनेको थियो ।

जसले सामाजिक सञ्जालमा सात करोड भन्दा बढी इम्प्रेसन, युट्युबमा १.५ लाख भ्युज, फेसबुकमा २० हजारभन्दा बढी शेयर र ट्वीटरमा ६५ सयभन्दा बढी रिट्वीट पाएको थियो । यसैगरी सन् २०१९ मा भ्यालेन्टाइन्स डेको दौरान शादी डटकमले सञ्चालन गरेको ‘वो एक बात’ (#WohEkBaat) नामक क्याम्पेन समेत निकै चर्चित बनेको थियो ।

जहाँ लाखौँ जोडीहरूले सामाजिक सञ्जालमा यो ह्यासट्याग प्रयोग गर्दै आफ्नो त्यस्तो एउटा कुराको बारेमा उल्लेख गरेका थिए, जसले उनीहरूलाई आफ्नो जीवनसाथीसँग सधैँ जोडेर राख्दछ ।

यस प्रकारका क्याम्पेन चलाउनुको सबैभन्दा ठूलो फाइदा शादी डटकमलाई के भयो भने समग्र म्याट्रिमोनी उद्योगमा शादी डटकमको जस्तो ब्रान्ड सचेतना अरु कसैको छैन । जब तपाईँ कुनै नयाँ स्टार्टअप वा व्यवसाय सुरु गर्नुहुन्छ, सुरुवाती दिनमा सबैलाई केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।

अनुपम मित्तलले समेत यस्तै केही चुनौतीसँग जुध्नु पर्‍यो । माथि चर्चा गरेजस्तै शादी डटकम त्यस्तो समय बजारमा आयो, जतिखेर धेरैलाई इन्टरनेटको मतलव नै थाहा थिएन ।

जसले गर्दा कम्पनीलाई आफ्नो पहिचान बनाउन, मानिसहरूको विश्वास जित्न र बजारमा स्थान बनाउन निकै ठूलो संघर्ष गर्नुपरेको थियो । तत्कालीन समयमा मानिसहरूको बुझाई नै त्यस्तो थियो कि उनीहरू यस प्रकारका चिजहरूमा विश्वास नै गर्दैन थे ।

कम्पनीका संस्थापक अनुपम मित्तलले एक अन्तर्वार्तामा बताएका थिए कि सुरुवातमा शादी डटकमका कारण उनी ऋणमा डुबेका थिए । तर यी सबै मुस्किलका बावजुद पनि उनले पछाडि फर्किएर हेरेनन् ।

आफ्नो पूरा मेहनत र लगनशीलताको बलमा उनले शादी डटकमलाई भारतको प्रमुख म्याट्रिमोनी वेबसाइट बनाइदिए । यसरी आज शादी डटकम भारतको मात्र नभएर विश्वकै स्थापित म्याट्रिमोनियल वेबसाइटको रुपमा स्थापित छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३