काठमाडौं । एन्ड्रोइडको तुलनामा आईओएसमा धेरै फिचर आफ्नो इच्छा अनुसार परिवर्तन गर्न मिल्दैन । आईओएसमा एकपल्ट कुनै फिचर दिइएको छ भने त्यो कम्पनी आफैंले परिवर्तन नगरेसम्म त्यसमा केही चलाउन पाइँदैन ।
तर पछिल्लो समयमा आएर एप्पलले यो कुरामा आफूलाई सुधार गर्दै लगिरहेको छ । एप्पलले परिवर्तन गरेका विभिन्न फिचरमध्ये आज यहाँ आईफोनको लक स्क्रिनलाई कसरी आकर्षित बनाउने भन्ने बारेमा चर्चा गर्नेछौं ।
लक स्क्रिन व्यवस्थापन सामान्यतया आईफोनको लक स्क्रिनमा समय, मिति र तत्काल आएका नोटिफिसकेसन देख्न सकिन्छ । यी बाहेक अन्य फिचर तपाईं आफैंले मिलाउनुपर्ने हुन्छ । जस्तो फोनमा फेस आईडी अथवा पासकोड प्रयोग गर्न सकिन्छ ।
यसका लागि मोबाइलको सेटिङमा गएर फेस आईडी एन्ड पासकोडमा ट्याप गरेर फोन अनलक गर्नका लागि पासकोड अथवा फेस आईडी प्रयोग गर्न सकिन्छ । यस्तै फोन लक भएको बेला डिस्प्लेमा के के देख्न मिल्छ भनेर पनि मिलाउन सकिन्छ ।
यसका लागि सोही फेस आईडी एन्ड पासकोड अप्सनमा गएर थोरै तल स्क्रोल गरेर हेर्नुभयो भने केही फिचरको सूची देख्न सक्नुहुन्छ । यसमा आफ्नो आवश्यकता अनुसार कुनै फिचरको नोटिफिकेसन लक स्क्रिनमा नआओस् भन्ने चाहनुहुन्छ भने यसलाई डिसेबल गर्न सक्नुहुन्छ ।
टुडे भ्यु टुडे भ्यु फिचर अन्तर्गत तपाईंले फोन अनलक नगर्दा नै विजेट अथवा मौसम, क्यालेन्डर, आफ्नो नोट, फोटो लगायत कुरा हेर्न सक्नुहुन्छ । कुनै विजेटहरू हेर्नका लागि भने फोन अनलक गर्नुपर्ने हुन्छ ।
तर अधिकांश विजेट फोन लक अवस्थामा हुँदा नै हेर्न सकिन्छ । यो फिचर होम स्क्रिनका लागि पनि उपलब्ध छ । यसमा तपाईंले धेरै गतिविधिहरू गर्न सक्नुहुन्छ ।
-होम स्क्रिनमा भएको कुनै एउटा विजेटमा लामो समयसम्म होल्ड गर्नुहोस् । यसपछि पपअप मेनुमा ‘इडिट होम स्क्रिन’ अप्सनमा ट्याप गर्नुहोस् ।
स्क्रिनको देब्रेतिर सबैभन्दा माथि देखिने प्लस (+) चिन्हमा ट्याप गर्नुहोस् आफूले चाहेको एपमा ट्याप गरेर विजेटमा थप्नुहोस् । यसपछि तपाईंले थप्नुभएको एपमा लामो समयसम्म होल्ड गर्नुहोस् र स्क्रिनको कतापट्टि राख्ने भनेर आफूले छानेको ठाउँमा लगेर राख्नु्होस् ।
कन्ट्रोल सेन्टर लक स्क्रिनमा महत्त्वपूर्ण फिचरमध्ये एक हो ‘कन्ट्रोल सेन्टर’ । यदि तपाईंले आफ्नो लक स्क्रिनमा ‘कन्ट्रोल सेन्टर’ फिचर अन गर्नुभएको छ भने तपाईं आफूले दैनिक प्रयोग गर्ने विभिन्न एपहरू फोन लक नगरेरै पनि चलाउन सक्नुहुन्छ ।
जस्तो कि तपाईंले आफ्नो लक स्क्रिनमा कन्ट्रोल सेन्टर मार्फत फ्ल्यास लाइट, क्लक, क्यामेरा, क्यालेन्डर, क्याल्कुलेटर, रिमाइन्डर लगायतका फिचर प्रयोग गर्न सक्नुहुन्छ ।
कन्ट्रोल सेन्टरमा आफूलाई आवश्यक एपहरू राख्नको लागि सेटिङमा गएर ‘कन्ट्रोल सेन्टर’ अप्सनमा ट्याप गर्नुहोस् । त्यहाँ विभिन्न एपहरूको सूची हुन्छ । आफूलाई चाहेको एपको नाममा ट्याप गरेर कन्ट्रोल सेन्टरमा ट्याप गरेर थप गर्न सक्नुहुन्छ ।
यदि तपाईंको लक स्क्रिनमा कन्ट्रोल सेन्टर इनेबल छैन भने सेटिङमा गएर फेस आईडी एन्ड पासकोड अप्सनमा गएर कन्ट्रोल सेन्टर अप्सनलाई इनेबल गर्दिनुहोस् ।
नोटिफिकेसन हामीले दिनमा पटक-पटक फोन हेर्ने एउटा प्रमुख कारण हो फोनमा आउने नोटिफिकेसनहरू । फोनमा नोटिफिकेसन आएपछि हामी फोन चलाउन बाध्य हुन्छौं । तर केही नोटिफिकेसन काम लाग्ने हुन्छन् भने केही काम नलाग्ने पनि हुनसक्छ ।
यसका लागि तपाईंले आवश्यक बाहेक बाँकी एपहरूको नोटिफिकेसन अफ गरेर राख्न सक्नुहुन्छ । अथवा फोन लक हुँदा डिस्प्लेमा देखिने नोटिफिकेसनको स्टाइल परिवर्तन गर्न सक्नुहुन्छ ।
यसका लागि सेटिङमा गएर नोटिफिकेसन अप्सनमा ट्याप गर्नुहोस् । यसपछि नोटिफिकेसन स्टाइल अप्सनमा ट्याप गरेर आफूलाई चाहिने एपहरूमा नोटिफिकेसन अन गरेर बाँकी अन्यमा नोटिफिकेसन अफ गर्न सक्नुहुन्छ ।
यसले गर्दा लक स्क्रिनमा अनावश्यक नोटिफिकेसनहरू आउदैँनन् । यसैगरी लक स्क्रिनमा नोटिफिकेसनको प्रिभ्यु अन गर्ने वा नगर्ने पनि सोही अप्सनमा गएर मिलाउन सक्नुहुन्छ ।
यदि तपाईं कुनै एपको नोटिफिकेसन आओस् तर त्यहाँ के लेखिएको छ नदेखियोस् भनेर चाहनुहुन्छ भने चाहेको एपमा ट्याप गर्नुहोस् । यसपछि त्यहाँ भएको सो प्रिभ्यु अप्सनमा क्लिक गरेर यसलाई डिसेबल गर्न सक्नुहुन्छ ।
लक स्क्रिन वालपेपर परिवर्तन गर्नुहोस् यदि तपाईं फोनको लक स्क्रिन र होम स्क्रिनमा एउटै फोटो राख्न चाहनुहुन्न भने लक स्क्रिनको वालपेपर परिवर्तन गर्न सक्नुहुन्छ । यसका लागि सेटिङमा गएर वालपेपर अप्सनमा ट्याप गर्नुहोस् ।
यसपछि मोबाइलमा नै भएका फोटो अथवा तपाईंको आफ्नै फोटो छानेर लक स्क्रिनको वालपेपरमा राख्न सक्नुहुन्छ ।