close

भ्रामक सूचना फैलाएको भन्दै ब्राजिलमा टेलिग्राममाथि प्रतिबन्ध

टेकपाना टेकपाना

चैत ५, २०७८ १३:५

भ्रामक सूचना फैलाएको भन्दै ब्राजिलमा टेलिग्राममाथि प्रतिबन्ध

काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले एप्पल र गुगललाई देशभित्र टेलिग्राम म्यासेजिङ एपमा प्रतिबन्ध लगाउन आदेश दिएका छन् ।

रोयटर्सका अनुसार त्यहाँको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे दि मोरेसले टेलिग्राममाथि प्रतिबन्ध लगाउन आदेश दिएका हुन् । प्रयोगकर्तालाई गलत सूचना फैलाउनबाट रोक्न टेलिग्राम असफल भएको अदालतको दाबी छ ।

ब्राजिलको दूरसञ्चार एजेन्सी एनाटेलले आधिकारिक रूपमा टेलिग्रामलाई स्थानीय आदेशको पालना नगरेसम्म र जरिवाना नतिरेसम्म निलम्बन गर्न माग गरेको छ ।

योभन्दा अगाडि नै ब्राजिलका अधिकारीहरूले टेलिग्रामले झुठा चुनावी प्रचारविरुद्ध कदम चाल्न सहयोग माग्दा असहयोग गरेको भन्दै निलम्बन गर्ने धम्की दिएका थिए ।

हुन त टेलिग्रामले फेब्रुअरीमा अमेरिकामा बस्ने बोलोस्नारोका समर्थक ब्राजिलियन ब्लगर एलन डोस सान्तोसका तीन च्यानलहरू हटाएर प्रतिक्रिया दिएको थियो ।

यद्यपि, अदालतले भने टेलिग्रामले हिंसा भड्काउने र गलत सूचना प्रवाह गर्ने कामलाई रोक्न सक्रिय भूमिका नदेखाएको ठहर गरेको छ । अदालतले एप्पल, गुगल र स्थानीय दूरसञ्चार कम्पनीहरूलाई टेलिग्राम ब्लक गर्न पाँच दिनको समय दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३