close

अब फेसबुक र इन्स्टाग्राम रिल्समा बज्ने नेपाली गीतले पनि रोयल्टी पाउने

टेकपाना टेकपाना

चैत ५, २०७८ १७:९

अब फेसबुक र इन्स्टाग्राम रिल्समा बज्ने नेपाली गीतले पनि रोयल्टी पाउने

काठमाडौं । अब फेसबुक र इन्स्टाग्रामको ‘रिल्स’ मा बज्ने नेपाली गीतका कलाकारले रोयल्टी पाउने भएका छन् । संगीत रोयल्टी संकलन समाज नेपालले हालै मेटासँग ‘म्युजिक लाइसेन्सिङ एन्ड पब्लिसिङ’ सम्झाैता गरेको छ ।

बिहीवार भएको यो सम्झौता अनुसार फेसुबक र इन्स्टाग्रामको रिल्समा बज्ने नेपाली गीतले रोयल्टी पाउनेछन् । हाललाई केही सीमित नेपाली प्रयोगकर्ताले मात्र रिल्सको बेटा भर्सन प्रयोग गरिरहेका छन् ।

केही समयपछि सबै प्रयोगकर्ताका लागि फेसबुक र इन्स्टाग्राममा यो फिचर उपलब्ध हुने अनुमान गरिएकाे छ । यसपश्चात सो फिचरमा बज्ने नेपाली गीत-संगीतले रोयल्टी प्राप्त गर्ने संगीत रोयल्टी संकलन समाजका प्रमुख प्राविधिक अधिकृत मंगेश दत्तले बताए ।

रोयल्टी पाउन भने गीतका सर्जक संगीत रोयल्टी संकलन समाजमा दर्ता हुनुपर्ने प्रावधान राखिएको छ ।

‘अहिले पनि धेरै नेपाली गीतहरू अन्तर्राष्ट्रिय प्लेटफर्ममा बजिरहेका छन् । तर गीतका सर्जकले भने गीत बजेवापत पाउनुपर्ने रोयल्टी पाएका छैनन् । यसकै लागि हामीले मेटासँग रिल्समा बज्ने नेपाली गीतको रोयल्टीका लागि सम्झौता गरेका हौं,’ दत्तले टेकपानासँग भने ।

उनले अगाडि भने, ‘छिट्टै नै स्पोटिफाई लगायत अन्य गीत-संगीतका प्लेटफर्ममा पनि नेपाली गीत दर्ता गरी रोयल्टी पाउने व्यवस्था ल्याउन लागेका छाैं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३