close

अमेरिकी सरकारको आदेशमा किन उत्साहित ‌‍छ क्रिप्टो बजार ?

टेकपाना टेकपाना

चैत ६, २०७८ ९:२९

काठमाडौं । डिजिटल सम्पत्ति नियमनको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै ल्याएको नयाँ योजनाले क्रिप्टोकरेन्सी बजारमा उत्साह थपेको छ । यो योजना क्रिप्टो बजारका लागि सकारात्मक रहेको विश्लेषण गरिएकाे छ ।

योभन्दा अगाडि पनि अमेरिकी सरकारले केही सीमित समयका लागि मात्र भएपनि क्रिप्टोकरेन्सीलाई नियमन गर्न केही प्रयास गरेकाे थियाे ।

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन अन्तर्गतको ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ ले सन् २०२० को क्रिसमसको समयमा क्रिप्टो कारोबारलाई नियमन गर्नको लागि नियमावली प्रस्ताव गरेको थियो भने गत वर्ष क्रिप्टो कारोबारलाई करको दायरामा ल्याउने प्रस्ताव पनि आएको थियो ।

यो विषयमा अमेरिकाको नीति निर्माता र क्रिप्टोमा काम गरिरहेकाहरू बीच विभिन्न विषयमा छलफल भइरहेको पनि बताइएको छ ।

क्रिप्टो बजार खुशी हुने अर्को कारण पनि छ । बाइडेनको क्रिप्टो सम्बन्धी नयाँ योजनाले डिजिटल सम्पत्तिलाई वैधानिकता दिएको छ, जसकारण क्रिप्टो गलत हो अथवा यसको प्रयोगले संसार ध्वस्त हुनसक्छ भन्ने लगायतका सोचलाई जवाफ दिएको क्रिप्टो लगानीकर्ताहरूको धारणा छ ।

बाइडेनले सम्बन्धित निकायलाई यो बजारको उपभोक्ता, लगानीकर्ता र व्यवसायीहरुको सुरक्षा साथै क्रिप्टो प्रणालीको चुनौतीहरूलाई सम्बोधन गर्ने गरी नीति निर्माण गर्न निर्देशन जारी गरेको छ ।

त्यस्तै अमेरिकालाई डिजिटल सम्पत्तीको विकासमा अगाडि राख्न चाल्नु पर्ने कदमहरूको विषयमा काम गर्न बाइडेनले अमेरिकाको वाणिज्य विभागलाई निर्देशन दिएका छन् ।

अमेरिकी सरकारले यस विषयमा लामो समयदेखि छलफल गरिरहेको थियो । तर प्रशासनको यो निर्देशनले यो विषयलाई थप स्पष्ट बनाएको छ । साथै सरकारको डिजिटल सम्पत्तिलाई विकास गर्ने कुरालाई अमेरिकामा क्रिप्टोकरेन्सी बन्द नहुने वा कुनै प्रकारको कडाई नहुने देखिएको छ । यसले पनि लगानीकर्ताहरुमा उत्साह थपेको छ ।

सामाजिक सञ्चजालमा समेत जानकार व्यक्तिहरूले अमेरिकाले अर्थतन्त्रको भविष्यलाई हेरेर डिजिटल सम्पत्तिको लागि योजना बनाएको कुरा सकारात्मक रहेको भन्ने प्रतिक्रिया पनि दिएका छन् ।

साथै बाइडेनको निर्देशनले डलरलाई विश्वको सञ्चित मुद्राको रुपमा व्यवस्थापन गर्न सेन्ट्रल बैंक डिजिटल करेन्सीको स्थापनामा पनि जोड दिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ ७:५२