काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा विश्वकै धनाढ्य एलन मस्कले युक्रेनलाई स्टारलिंकको स्याटलाइट इन्टरनेट उपलब्ध गराएका छन् । त्यही स्टारलिंक स्याटलाइट सिस्टमले युक्रेनी सैनिकलाई ड्रोन युद्ध जिताउन सहयोग गरिरहेको छ ।
रुसी सेनाविरुद्ध युक्रेनको ‘एरियल रिकोनेन्स’ नामक समूहले आक्रामक ड्रोनहरू प्रयोग गरी रुसी ट्याङ्क र स्थानहरूलाई लक्षित गर्ने गर्छ ।
युद्धका क्रममा इन्टरनेट र विद्युत सेवा अवरुद्ध हुनसक्ने कुरालाई लक्षित गर्दै युक्रेनले आफ्ना केही सञ्चार सेवा स्टारलिंक सिस्टममा परिणत गर्ने निर्णय गरेको छ ।
स्टारलिंकले ड्राेनकाे सञ्चार प्रणालीलाई युद्धभूमिको डेटाबेससँग जोड्ने गर्छ । त्यही सिस्टमले ड्रोनलाई रूसी ट्याङ्कमाथि हतियार खसाल्ने निर्देशन दिनसक्छ ।
त्यस्तै ती ड्रोनहरू सटिक हमला गर्नसमेत प्रयोग भइरहेका हुन्छन् । त्यति मात्र नभई, १० फिटका पखेटा र इन्फ्रारेड सेन्सर प्रयोग भएका मानवरहित हवाई वाहनहरू रुसी सेनाका गतिविधि निगरानी गर्न प्रयोग भइरहेका छन् ।
युक्रेनी ड्रोन समूहले परिष्कृत प्रणाली डेल्टा प्रयोग गर्छन् । यी ड्रोनहरू सामान्य कम्प्युटरबाट पनि एक्सेस गर्न सकिन्छ । त्यस्तै यीनमा ‘सिच्वेसन अवेयरनेस सफ्टवेयर’ समावेश गरिएको हुन्छ, जसले ड्रोन, स्याटलाइट, सेन्सर र मानव बुद्धिमत्ताबाट अन्तर्क्रियात्मक नक्सा सिर्जना गर्छ । यसले गर्दा निशानामा रहेका दुश्मनहरू ट्रयाक गर्न सकिन्छ ।
रुसले लगातार युक्रेनका पूर्वाधारहरू ध्वस्त बनाइसकेपछि त्यहाँ इन्टरनेट अवरोध हुने निकै डर थियो । रुसले ठूला सहरमा आक्रमण थालेपछि युक्रेनका उपप्रधानमन्त्रीले एलन मस्कसँग ट्वीटरमा युक्रेनलाई स्टारलिङ्ककको स्टेसन उपलब्ध गराइदिन अनुरोध गरेका थिए ।
त्यसको केही घन्टामा एलन मस्कले युक्रनलाई स्टारलिङ्क उपलब्ध गराउने घोषणा गरेका थिए । स्टारलिङ्कले पृथ्वीलाई परिक्रमा गरिरहेका हजारौं साना स्याटलाइट ‘मेगाकन्सेलेसन’ प्रयोग गर्छ, जो पृथ्वी सतहभन्दा ३४० माइल टाढा रहेका छन् ।
यसको मुख्य उद्देश्य नै संसारका ग्रामीण तथा इन्टरनेटको पहुँच नपुगेका ठाउँमा इन्टरनेटको पहुँच पुर्याउनु हाे । स्पेसको भ्याकुमबाट रेडियो वेभ ट्राभल गर्ने भएकाले यसको गति निकै नै तीव्र हुने अनुमान छ ।
स्टारलिंबले १२ हजार स्याटलाइट प्रक्षेपण गर्ने याेजना राखेकाेमा हालसम्म दुई हजारभन्दा बढी स्याटलाइट प्रक्षेपण भइसकेकाे छ ।