close

रुसी केन्द्रीय बैंक ह्याक, ३५ हजार गोप्य विवरण सार्वजनिक गरिदिने ह्याकरको धम्की

टेकपाना टेकपाना

चैत ११, २०७८ १०:५४

रुसी केन्द्रीय बैंक ह्याक, ३५ हजार गोप्य विवरण सार्वजनिक गरिदिने ह्याकरको धम्की

काठमाडौं । रुसको केन्द्रिय बैंकमा साइबर आक्रमण भएको छ । ‘एनोनिमस’ नाम गरेको समूहले रुसको केन्द्रीय बैंक ह्याक गरेर हजारौं संवेदनशील कागजातहरू सार्वजनिक गर्ने धम्की दिएको हो ।

यससँगै उक्त समूहले अन्तर्राष्ट्रिय कम्पनीहरूलाई पनि रुसमा आफ्नो सेवा बन्द गर्न भन्दै अन्यथा उनीहरूको कम्पनीको डेटा पनि ह्याक गर्ने चेतावनी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनमा ‘विशेष सैन्य कारबाही’ सुरु गरेको एक महिना पुगेको छ ।

अझै पनि यो रोकिने कुनै सङ्केत देखिएको छैन । नेटो, युरोपियन युनियन लगायत अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनहरूले यस विषयमा बोल्न चाहेका छैनन् । यद्यपि विभिन्न देशका ठूला-ठूला कम्पनीहरूले रुसमा आफ्नो सेवा बन्द गरेका छन् ।

विगत दुई दशक अगाडि सुरु भएको यो समूहले पनि रुस विरुद्धको अभियानमा हात हालेको हो । यस अघि समूहले ३० भन्दा बढी कम्पनीको डेटा चोरी गरेर एक अर्ब रुबेल  (करिब एक अर्ब १९ करोड रुपैयाँ) सङ्कलन गरेको थियो ।

त्यसपछि उक्त समूहले रुसी सेनाले आफ्नो सैन्य ट्यांक आत्मसमर्पण गरे बापत ५२ हजार अमेरिकी डलर (६३ लाख रुपैयाँ भन्दा बढी) रकम उपलब्ध गराउने अफर दिएको थियो । 

यसैबीच समूहले विहीबार पुनः आफ्नो ट्वीटर मार्फत केन्द्रीय बैंकका ३५ हजार दस्तावेज आफ्नो हात लागेको र आगामी दुई दिनमा ती दस्ताबेज सार्वजनिक गरिदिने धम्की दिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२