close

मानसिक तनाव दिएको भन्दै टिकटक विरुद्ध पूर्व कर्मचारीले हाले मुद्दा

टेकपाना टेकपाना

चैत १४, २०७८ १७:१६

मानसिक तनाव दिएको भन्दै टिकटक विरुद्ध पूर्व कर्मचारीले हाले मुद्दा

काठमाडौं । शर्ट भिडिओ प्लेटर्फम टिकटकविरुद्ध फेरि अर्को मुद्दा दायर भएको छ । कम्पनीका पूर्व कर्मचारीहरुले कन्टेन्ट मोडरेटरको रुपमा काम गर्दा मानसिक दुःख पाएको भन्दै मुद्दा दायर गरेका हुन् ।

एसल्ली भेलेज र रिस योङले पहिला टिकटकको पूर्व कन्टेन्ट मोडरेटरको रूपमा काम गर्थे । उनीहरूले फिल्टर नभएका, घृणित र आपत्तिजनक कन्टेन्टहरु रिभ्यु गर्थे, जसमा बालयौन, बलात्कार, यातना, आत्महत्याजस्ता कन्टेन्ट समावेश थिए ।

उनीहरुले टिकटकको मुख्य कम्पनी बाइटडान्स विरुद्ध दायर गरेको मुद्दाको फाइलमा भनिएको छ, ‘काम गर्ने कर्मचारीमाथि कम्पनीले लापरबाही गर्‍याे । आवश्यक सहयोग र हेरचार नहुनु कम्पनीको कमजोरी हो ।’

यस्ता काममा ठूलो मात्रामा ग्राफिक्स तथा निषेध गरिएका सामग्रीमा काम गर्दा निकै ठूला चुनौती कर्मचारीहरुले भोग्नुपर्छ । तर, त्यस्ता जोखिमलाई कम गर्न कम्पनीले कुनै पनि कदम नचालेको उनीहरूको आरोप छ ।

पूर्व कर्मचारीहरुले दायर गरेकाे मुद्दाको विषयमा कम्पनीले हालसम्म कुनै आधिकारिक धारणा दिएको छैन । तर, यो टिकटक विरुद्ध केही समयको अन्तरातमा हालिएको दोस्रो मुद्दा हो ।

यसअघि टिकटकमा कन्टेन्ट मोडरेटरकै रुपमा कार्यरत पूर्वकर्मचारी क्यान्डी फ्रेजायरले मुद्दा दायर गरेकी थिइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३