काठमाडौँ । चीनको सियान, सान्सी प्रान्तमा निर्माण हुने बीवाईडी ब्रान्डका विद्युतीय सवारीसाधनहरू नेपालमा निकै लोकप्रिय छन् । नक्सालमा रहेको सिमेक्स इंक प्राइभेट लिमिटेडले बिवाईडी ब्रान्डका विद्युतीय कार नेपाल भित्र्याउँदै आएको छ ।
हालसम्म ई सिक्स र सेकेन्ड जेनेरेसन ई सिक्स गरी विद्युतीय कारका दुई ओटा मोडेल नेपालमा बिक्री गर्दै आइरहेको बीवाईडीले आगामी मे महिनासम्ममा विद्युतीय कारको अर्को मोडेल एट्टो सिक्स नेपाल भित्र्याउने तयारी गरिरहेको छ ।
बीवाईडीले नेपालमा पहिलो पटक जिएल र जीएलएक्स गरी दुई भेरियन्टमा ई सिक्स मोडेल सार्वजनिक गरेको थियो । ९० किलोवाट क्षमताको मोटर जडान भएको यो कारमा ८० किलोवाट आवर क्षमताको आइरन फोस्फेट ब्याट्री जडान गरिएको छ ।
१५५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको यो कारको मूल्य ५० लाख रुपैयाँ छ । ई सिक्स मोडेल सन् २०१६ मा चीनमा सबैभन्दा बढी बिक्री हुने पूर्ण विद्युतीय कारमा पर्न सफल भएको थियो । यो कारले हवाना अन्तराष्ट्रिय मेला २०१५मा “उत्कृष्ट गुणस्तर उत्पादन” का लागि स्वर्ण पदक पनि जितेको थियो ।
त्यसैगरी, बीवाईडीको सेकेन्ड जेनेरेसन ई सिक्स नेपाली बजारमा धेरैले रुचाएको अर्को कार हो । ७० किलोवाट क्षमताको मोटर जडान भएको यो कारमा ७१.७ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री राखिएको छ ।
एकपटक फुल चार्ज गर्दा ५२० किलोमिटर रेन्ज दिने यो गाडीमा १७० एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ । आकर्षक र परिमार्जित डिजाइन सहित सार्वजनिक भएको यो कारको मूल्य नेपाली बजारमा ५७ लाख ७० हजार रुपैयाँ रहेको छ ।
बीवाईडीले नेपाली बजारमा आगामी मे महिनामा भित्र्याउन लागेको विद्युतीय कारको नयाँ मोडेल “एट्टो सिक्स”मा ५०.१ किलोवाट आवर र ६०.४ किलोवाट आवर गरी दुई ब्याट्री विकल्प दिइएको छ। यो कारले अधिकतम् २०० हर्स पावर उत्पादन गर्ने जनाइएकाे छ ।
८० किलोवाटको फास्ट चार्जरबाट ४५ मिनेटमै फुल चार्ज हुने दावी गरिएकाे यो कारले अधिकतम ३२० देखि ४२० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीकाे भनाइ छ । यो कार छिट्टै सार्वजनिक हुने भनिए पनि मूल्य भने खुलाइएको छैन ।