close

सोसल मिडियाको असर पुरूषलाई भन्दा महिलालाई बढी

टेकपाना टेकपाना

चैत १७, २०७८ १०:४६

सोसल मिडियाको असर पुरूषलाई भन्दा महिलालाई बढी

काठमाडौं । अहिलेको समयमा सामाजिक सञ्जालमा नजोडिने सायदै कोही होलान् । जोडिएकामध्ये कतिपयलाई सामाजिक सञ्जालको लत नै लागेको हुनसक्छ । लत नै नलागेको भएपनि सामाजिक सञ्जालको असर धेरैलाई परेको छ ।

यस्तोमा पछिल्लो अध्ययनले सामाजिक सञ्जालमा जोडिएकामध्ये पुरुषमा भन्दा पनि महिलामा छिटो अर्थात कम उमेरमा असर पर्ने देखाएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयका साइकोलोजिस्टहरुको समूहले गरेको एक अध्ययनले ११ देखि १३ वर्षको उमेरमै सामाजिक सञ्जालमा धेरै समय बिताउने महिलामा त्यसको एक वर्षभित्रै आफ्नो जिन्दगीप्रति असन्तुष्ट हुने गरेको देखाएको छ ।

पुरुषको हकमा यो उमेर १४ देखि १५ वर्ष रहेको छ । त्यस्तै १९ वर्षको उमेरमा धेरै सामाजिक सञ्जाल चलाउने महिलाको चासोको विषय यौन हुनेसमेत अध्ययनले देखाएको छ ।

त्यतिमात्रै नभएर अध्ययनमा सन् २०१७ देखि २०२१ को बीचमा १६ वर्षसम्मका बालबालिकामा सामाजिक सञ्जालका कारण देखिने मानसिक रोग ५० प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

यो अध्ययनमा १० वर्षदेखि ८० वर्षसम्मका ८४ हजारले सहभागिता जनाएका थिए । अध्ययनले सामाजिक सञ्जालका कारण मान्छेलाई आफ्नो जिन्दगीप्रति असन्तुष्टि पैदा गरिरहेको देखाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३