काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा दरबारमार्ग महोत्सव हुने भएको छ ।
कोभिड-१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारा सहित वैशाख ३ गते दरबारमार्गमा १५औं दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो ।
महोत्सवका लागि उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार अशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग विशेष सहकार्य गरेका छन् ।
महोत्सवको सह-प्रायोजकमा गोरखा ब्रुअरी रहेको छ ।
आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा दिने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
यो महोत्सवमा सम्पूर्ण रुपमा नेपाली कला संस्कृति झल्कने प्रस्तुति गरिने बताइएकाे छ ।
दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्फ नारायणहिटी संग्रहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।