काठमाडौं । बुटवल उपमहानगरपालिकाले विद्युतीय घर नम्बरिङ प्रणाली सुरु गरेको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री लिला गिरीले उक्त प्रणालीको शनिबार सुरुवात गरेका हुन् ।
योसँगै अब बुटवल उपमहानगरपालिका अन्तर्गत रहेका १९ वटा वडाभित्र रहेका सार्वजनिक कार्यालय, अस्पताल, शैक्षिक संस्था अथवा निजी घर लगायतको ठेगाना गुगल अथवा मोबाइल एपमा सहजै पत्ता लगाउन सकिने उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत रोशनकुमार रेग्मीले बताए ।
‘जियोग्राफिक इन्फर्मेशन सिस्टम अन्तर्गत रहेर हामीले यो प्रणालीको विकास गरेका हौं । बुटवल सहरलाई डिजिटलाइजेसन गर्ने क्रममा हामीले यो कामको सुरुवात गरेका हौं,’ उनले भने, ‘योसँगै अब बुटवलको कुनै पनि घर वा कार्यालय अथवा अन्य कुनै संघ सस्थाहरू पत्ता लगाउनको लागि घर नम्बरबाट नै पत्ता लगाउन सकिन्छ । सेवग्राहीले गुगलमा घर नम्बर हानेकै भरमा खोजेको ठाउँ पत्ता लगाउन सकिनेछ ।’
यसले नक्सा पास गर्ने काम, सरकारको घरदैलो सेवाका काम लगायत अन्य निजी प्रयोगजनका कामका लागि सहज हुने उनले बताए ।
‘यसमा कृषिफार्म, बैंक तथा वित्तीय संस्था, पुलहरू, शैक्षिक संस्था, उद्योगहरू, होटल, स्वास्थ्य क्षेत्र, सार्वजनिक कार्यालय, विद्युत प्राधिकरणको कार्यालयहरू, सार्वजनिक शौचालय, प्रहरी कार्यालय लगायत सम्पूर्ण भौतिक संरचनाहरूको विवरण प्राप्त गर्न सकिन्छ, ’ उनले भने ।
साथै पछिल्लो समयमा बढ्दै गएको अनलाइन डेलिभरी सेवालाई थप चुस्त बनाउने उनले विश्वास व्यक्त गरे ।
१९ वटा वडामध्ये हाल वडा नं १ देखि १३ नं वडासम्म विद्युतीय घर नम्बरिङको काम सम्पन्न भएको र छिट्टै बाँकी छ वटा वडामा नम्बरिङको काम सकाउने उनले बताए ।