काठमाडौं । युक्रेन र रुसबीच जारी अवस्थालाई लिएर रुसमाथि आईटी कम्पनीहरूले प्रतिबन्ध लगाउने क्रम जारी नै छ । गुगल, एप्पल, सामसङजस्ता केही ठूला कम्पनीले यसअघि नै रुसमाथि प्रतिबन्ध लगाइसकेका छन् ।
रुसमा आफ्नो सेवामाथि प्रतिबन्ध लगाउने आईटी कम्पनीको पछिल्लो सूचीमा चिनियाँ कम्पनी ह्वावे समेत समावेश भएको छ ।
यो समयमा व्यवसाय खतरामा पर्ने भन्दै ह्वावेले अघिल्लो महिनामा रुसमा आफ्नो स्मार्टफोनको निर्यात संख्या घटाएको ह्वावेले अब रुसस्थित आफ्नो कार्यालय नै बन्द गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ह्वावेले रुसबाट आएका अर्डरहरू लिन बन्द गरिसकेको छ ।
त्यस्तै रुसमा दूरसञ्चार तथा नेटवर्किङका उपकरणहरूमा काम गर्ने ह्वावेको कर्पोरेट अफिस पनि बन्द गर्ने तयारी ह्वावेले गरिरहेको उल्लेख छ । उक्त कार्यालयमा काम गर्ने चिनियाँ कर्मचारीहरू चीनमा नै फर्किने तयारीमा छन् भने बाँकीलाई छुट्टी दिइने जनाइएको छ ।
ह्वावेले पहिले नै रूसी टेलिकम कम्पनीहरूसँग गरेको कामहरू रोकिसकेको छ । पछिल्लो समयमा रुसका टेलिकम कम्पनीहरू विभिन्न उपकरण तथा नेटवर्कका विभिन्न समस्याको लागि ह्वावेमा निर्भर हुन थालेका थिए ।
रुसको दूरसञ्चार क्षेत्रमा आवश्यक कूल उपकरणको ३३ प्रतिशत माग ह्वावेले धानिरहेको छ । यस्तोमा ह्वावेले रुसबाट आफ्नो हात झिक्दा रूसको दूरसञ्चार क्षेत्रमा असर पर्नसक्ने अनुमान गरिएको छ ।