फुटबल विश्वकपको अवधिमा अनलाइन सट्टेबाजी नगर्न प्रहरीको अनुरोध, २ महिनामा २० हजार बढी वेबसाइट ब्लक
जेठ ३०, २०८३ १५:३१
काठमाडौँ । फिफा विश्वकप सुरु भएसँगै नेपाल प्रहरीले अनलाइन सट्टेबाजी (बेटिङ) र जुवाजन्य गतिविधिमा सहभागी नहुन सर्वसाधारणलाई अनुरोध गरेको छ । खेलकुद महोत्सवको अवसर पारेर विभिन्न अनलाइन माध्यममा सट्टेबाजीका प्रलोभन बढ्न सक्ने भन्दै प्रहरीले नागरिकलाई सचेत गराएको हो ।
प्रहरीका अनुसार सट्टेबाजी सञ्चालकले सामाजिक सञ्जाल र मोबाइल स्क्रिनमा ‘थोरै पैसा लगानी गरेर घरमै बसी धेरै पैसा कमाउन सकिने’ जस्ता आकर्षक स्किम र विज्ञापन प्रवाह गर्ने गरेका छन् । यस्ता प्रलोभनमा परेर सर्वसाधारण सजिलै ठगीको सिकार बन्ने गरेको प्रहरीको भनाइ छ । सुरुवातमा केही रकम जितेको जस्तो देखाएर प्रयोगकर्तालाई थप रकम हाल्न प्रेरित गर्ने र अन्त्यमा ठुलो रकम ठगी गर्ने योजनाबद्ध गिरोह सक्रिय हुने हुनाले यसतर्फ सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
अनलाइन बेटिङ केवल आर्थिक नोक्सानीको विषय मात्र नभई यसले पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा र मानसिक स्वास्थ्यमा समेत गम्भीर नकारात्मक असर पार्ने प्रहरीको भनाइ छ ।
नेपालको कानुन अनुसार अनलाइन सट्टेबाजी पूर्ण रूपमा अवैध मानिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने स्पष्ट व्यवस्था गरिएको छ । प्रहरीले विश्वकप फुटबललाई गैरकानुनी आर्थिक लाभ आर्जन गर्ने माध्यम नबनाउन अपिल गरेको छ । साथै, आफ्नो टोल-छिमेक वा वरपर कसैले अनलाइन बेटिङ सञ्चालन गरेको वा अरूलाई सहभागी गराएको जानकारी पाएमा तुरुन्त नेपाल प्रहरीलाई खबर गर्न समेत अनुरोध गरिएको छ ।
जेन-जी विद्रोहपछिको चुनावबाट बनेको वालेन्द्र शाह (बालेन) नेतृत्त्वको सरकारले १०० दिने कार्यसूची सार्वजनिक गर्दै १३ चैतमा २४ घण्टाभित्रै अनलाइन बेटिङ प्लेटफर्म प्रतिबन्ध लगाउन थालेको थियो । यद्यपि यो पनि पूर्ण रूपमा लागू हुन सकेको छैन । खासगरी कुनै पुरानो डोमेन ब्लक गर्नासाथै नयाँ डोमेन सक्रिय हुने र भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)का कारण पूर्ण रूपमा सबै अनलाइन सट्टेबाजी प्लेटफर्म ब्लक हुन सकेका छैनन् ।
नेपाल दूरसञ्चार प्राथिकरण प्रशासन तथा अनुमतिपत्र निर्देशनालयका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार हालसम्म २० हजार बढी अनलाइन सट्टेबाजी तथा जुवाका प्लेटफर्म ब्लक भइसकेका छन् ।
पछिल्लो अध्यावधिक: जेठ ३०, २०८३ १६:३७
