काठमाडौं । पछिल्लो समय ओटीटी एप्लिकेसनको प्रयोग निकै बढ्दै गएको छ । यस्तोमा नेटफ्लिक्स, अमेजन प्राइभ जस्ता भिडिओ स्ट्रिमिङ प्लेटफर्मले समेत दिन प्रतिदिन नयाँ नयाँ फिचर ल्याइरहेका हुन्छन् ।
यसैबीच नेटफ्लिक्सले ‘टु थम्ब्स-अप’ फिचर रोलआउट गरेको हो । जसको सहयोगमा प्रयोगकर्तालाई नेटफ्लिक्सले रिकमेन्डेसन सेक्सनमा राम्रा शो तथा वेब सिरिज सुझाउनेछ ।
यद्यपि प्रयोगकर्तालाई अहिले यो प्लेटफर्ममा कुनै शो, वेब सिरिज वा मुभी लाइक वा डिसलाइक गर्ने अप्सन रहेको छ । जसको लागि ‘थम्ब्स अप’ आइकन तथा ‘थम्ब्स-डाउन’ आइकन दिइएको छ ।
‘थम्ब्स-अप’ को अर्थ ‘लाइक इट’ र ‘थम्ब्स डाउन’ को अर्थ ‘नट फर मि’ हो । तर अब नेटफ्लिक्स प्रयोगकर्तालाई ‘टु थम्ब्स-अप’ अप्सन समेत प्राप्त हुन थालेको छ ।
तपाईँले आफूलाई कुनै शो, मुभी अथवा वेब सिरिज मन परेको खन्डमा यो फिचर प्रयोग गर्न सक्नुहुनेछ । यो फिचर पनि बाँकी अन्य दुई अप्सनसँगै देखिनेछ ।
वेब, टिभी र आईओएसका साथै एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि समेत यो फिचर उपलब्ध हुनेछ । नेटफ्लिक्सका अनुसार यो फिचर पछिल्लो अपडेटसँगै सबै प्रयोगकर्ताका लागि रोलआउट गरिनेछ ।
यो फिचरको सहयोगमा तपाईँले नेटफ्लिक्समा रहेको आफ्नो प्रोफाइललाई अझ बढी ‘पर्सनलाइज्ड’ (आफू अनुकूल) बनाउन सक्नुहुनेछ ।
प्रयोगकर्ताको प्रतिक्रिया सामान्य लाइक वा डिसलाइकबाट अगाडि बढ्नेछ र नयाँ फिचरले तपाईँले कुन सामग्रीलाई निकै धेरै मन पराउनु भयो भन्ने कुराको ख्याल राख्नेछ ।
कसरी प्रयोग गर्ने ?
नेटफ्लिक्स एपमा कुनै पनि शो, सिरिज वा मुभीको मुनी दिइएको तीन ओटा थोप्ला भएको बटनमा जानुहोस् । त्यसपछि तपाईँले त्यहाँ नयाँ अप्सन देख्न सक्नुहुनेछ । मानौँ यदि तपाईँले कुनै एनिमेसन मुभीमा ‘टु थम्ब्स-अप’ गर्नुभयो भने नेटफ्लिक्सले तपाईँलाई एनिमेसन सिरिज सम्बन्धी अन्य सुझाव देखाउनेछ ।