काठमाडौं । नयाँ वर्ष २०७९ को अवसर पारी नेपालका दूरसञ्चार कम्पनीहरुले अफर घोषणा गरेका छन् ।
यसअन्तर्गत सरकारी स्वामित्वको नेपाल टेलिकमसँगै निजी क्षेत्रका एनसेल आजियाटा र स्मार्ट टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न सुविधासहित नयाँ वर्ष अफर ल्याएका छन् ।
नेपाल टेलिकम
टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस प्याकसहितको नयाँ वर्ष योजना उपलब्ध गराएको छ । यो अफर वैशाख ३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ ।
यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक ९८ मा खरिद गर्न सकिने छ । *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।
यसका साथै २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जिबीको डेटा प्याक र ५ सय तथा सोभन्दा बढीको एमपोस रिचार्जमा चार दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डेटा प्याक पनि उपलब्ध हुनेछ ।
एनसेल
त्यसैगरी एनसेलले नयाँ वर्षका लागि ‘न्यु इयर कम्बो अफर’ र रिचार्ज योजना ल्याएको हो । ‘न्यु इयर कम्बो प्याक’ अन्तर्गत कम्पनीले सात दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याकेज ल्याएको छ ।
जसमा प्याकेजअनुसार कम्पनीका ग्राहकले ‘अल नेट भ्वाइस (जुनसुकै कम्पनीको नम्बरमा कल गर्न सकिने)’, ‘अल टाइम डेटा (जुनसुकै समयमा प्रयोग गर्न सकिने)’, ‘अल नेट एसएमएस (जुनसुकै मोबाइल सेवाप्रदायकको नम्बरमा पठाउन सकिने) र नन् स्टप अन नेट भ्वाइस’ (एनसेलका नम्बरमा मात्रै कल गर्न सकिने) जस्ता आकर्षक सेवा बन्डलिङको रुपमा लिन सक्नेछन् ।
त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा सोभन्दा माथिको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
कम्बो प्याक अन्तर्गत ७ दिनको समयसीमा रहेको प्याकेजको मूल्य करसहित ९६ रुपैयाँ राखिएको छ । यो प्याकमा बन्डल गरिएको एक जीबी अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिने १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सकिनेछ ।
त्यस्तै कम्पनीका ग्राहकले १६८ रुपैयाँमा पाँच जीबी अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को सात दिने प्याक १६८ रुपैयाँ लिन सक्नेछन् । त्यस्तै एनसेलले २८ दिन समयसीमा रहेको प्याक पनि ल्याएको छ ।
जसअन्तर्गत कम्पनीका ग्राहकले २९८ रुपैयाँ पाँच जीबी डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । यो प्याक लिन चाहने ग्राहकले *१७१२३*१# डायल गर्नुपर्नेछ ।
त्यस्तै कम्बो प्याकअन्तर्गत नै विशेष गरी प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुम सहित २८ दिन समयसीमा रहेका अन्य दुई प्याकहरू पनि रहेका छन् ।
जसमा ७९८ रुपैयाँमा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन एक जीबी डेटा सहित नन् स्टप अन नेट कल सुविधा ९५ हजार मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रही, ५० मिनेट अफ नेट टकटाइम र १०० ओटा अलनेट एसएमएसको फाइदा लिन सक्नेछन् ।
त्यसै गरी २८ दिने प्याकमा ग्राहकले ९९८ रुपैयाँ हरेक दिन दुई जीबी डेटा २८ दिनसम्म, एनसेल नेटवर्कभित्र नन् स्टप कल सुविधा, १०० मिनेट अफ नेट टक टाइम र २०० ओटा अल नेट एसएमएस पाउने छन् । यसका साथै रिचार्ज योजनामा ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्नेछन् ।
जसअनुसार ५० रुपैयाँदेखि ९९ रुपैयाँको रिचार्ज गर्ने ग्राहकले एक दिनको समय सीमा रहेको ५० एमबी डेटा सोसल प्याकको रुपमा प्राप्त गर्ने छन् ।
त्यस्तै गरी १०० रुपैयाँदेखि ९९ रुपैयाँको रिचार्जमा ग्राहकले तीन दिनको समय सीमा रहेको २०० एमबी सोसल प्याक र २०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा ग्राहकले ७ दिनको समयसीमा रहेको ५०० एमबी सोसल प्याक पाउनेछन् ।
स्मार्ट टेलिकम
स्मार्टले ‘हर्षैहर्षको नयाँ वर्ष’ योजना ल्याएको छ । नयाँ वर्ष २०७८ को अवसर पारी सार्वजनिक गरिएको यस योजना अन्तर्गत ‘रिचार्जमा बेनिफिट्स’ र ‘न्यू इयर डेटा’ अफर रहेको छ ।
यसअन्तर्गत प्रत्येक रिचार्जमा भ्वाइस प्याक, डेटा प्याक, एसएमएस प्याक लगायत विभिन्न प्रकारका बोनस उपहार पाइने कम्पनीले जनाएकाे छ ।
ग्राहकले ५० रूपैयाँदेखि १,००० रूपैयाँसम्मकाे ब्यालेन्स रिचार्ज गर्दा भ्वाइस, एसएमएस र डेटा प्याक पाउनेछन् ।
यसअन्तर्गत १,००० रूपैयाँकाे रिचार्ज गर्दा ७ जीबी डेटाका साथै २५० मिनेटसम्म कल र २५० एसएमएस (सबै नेटवर्कमा प्रयाेग गर्न सकिने) पाउनेछन् ।
त्यस्तै ५०० रूपैयाँकाे रिचार्ज गर्दा ३ जीबी डेटाका साथै १०० मिनेट कल र १०० एसएमएस (सबै नेटवर्कमा प्रयाेग गर्न सकिने) सुविधा पाउनेछन् ।
यसैगरी २००, १०० र ५० रूपैयाँकाे रिचार्जमा पनि यस्ताे सुविधा दिइएकाे कम्पनीले जनाएकाे छ ।
कम्पनी प्रत्येक रिचार्जमा बोनसका साथै ‘न्यू इयर डेटा’ अफर पनि ल्याएकाे छ । यसअन्तर्गत ग्राहकले ४५ रूपैयाँमै ३ जीबी डेटा पाउन सक्नेछन् ।