close

ट्वीटर किन्ने एलन मस्कको प्रस्तावमा विचार गर्ने कम्पनीको भनाइ

टेकपाना टेकपाना

बैशाख २, २०७९ ९:३७

ट्वीटर किन्ने एलन मस्कको प्रस्तावमा विचार गर्ने कम्पनीको भनाइ

काठमाडौं । प्रतिकित्ता ५४.२० डलरमा ट्वीटरको सम्पूर्ण सेयर खरिद गर्नेबारे एलन मस्कले राखेको प्रस्तावमा कम्पनीले विचार गर्ने जनाएको छ ।

मस्कले ४१ अर्ब डलर नगदमा पुरै कम्पनी किन्न गरेकाे प्रस्ताव प्राप्त भएकाे र यसबारे मूल्याकंन भइरहेकाे ट्वीटरले एक विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

ट्वीटरका बोर्ड डिरेक्टरहरूले कम्पनी र यसका शेयरधनीहरूको सर्वोत्तम हित हुनेगरी मस्ककाे प्रस्तावलाई ध्यानपूर्वक रिभ्यु गर्ने कम्पनीले जनाएकाे छ । तर कहिलेसम्म यसबारे निर्णय हुनेछ भन्ने विषयमा केही खुलाइएकाे छैन ।

ट्वीटरका सीईओ पराग अग्रवालले पनि कर्मचारीहरूलाई बिहीबार एक आपतकालीन बैठकमा मस्ककाे प्रस्तावबारे मूल्यांकन भइरहेकाे जनाएका छन् ।

टेस्लाका सीईओ एलन मस्कले ट्वीटरको शत प्रतिशत शेयर खरिद गर्ने ‘उत्तम र अन्तिम’ प्रस्ताव अघि सारेका थिए । यूएस सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिसनमा बिहीबार दर्ताभएको फाइलमा प्रति शेयर ५४.२० अमेरिकी डलर नगदमा ट्वीटरको सबै शेयर खरिद गर्न तयार रहेको उल्लेख गरेका हुन् ।

ट्वीटर निजीमा जानुपर्ने र त्यसपछि आवश्यक परिवर्तन गर्न सकिने मस्कको भनाइ छ ।

यदि आफ्नो अफर स्वीकार नगरिएको खण्डमा शेयर होल्डरको रुपमा आफूले आफ्नो हैसियत पुनर्विचार गर्न आवश्यक ठानेको  मस्कले भनेका छन् ।

विश्वकै सर्वाधिक धनी व्यक्ति मस्कले ट्वीटरको ९.२ प्रतिशत शेयर यसअघि नै खरिद गरिसकेका छन् । त्यसलगत्तै उनलाई आफ्नो बोर्डमा नियुक्त गर्न घोषणा ट्वीटरले गरेको थियो । तर मस्कले त्यसलाई नकारिदिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४