close

६६ करोड बराबरको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन व्यक्ति पक्राउ

टेकपाना टेकपाना

बैशाख ५, २०७९ २१:२७

६६ करोड बराबरको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन व्यक्ति पक्राउ

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन व्यक्ति पक्राउ परेका छन् । काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन गरिएको विशेष टोलीले बिटक्वाइन, यूएसडीटी, सोलाना र इथेरियमको अवैध कारोबारमा सक्रिय रहेका तीन व्यक्तिलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट अनुप मिश्र, दिपेश थापा, राहुल चचानलाई क्रिप्टोको कारोबार गर्न प्रयोग गर्दै आएको विद्युतीय उपकरणसहित पक्राउ गरेको हो ।

उनीहरूले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको पाइएको छ ।

पक्राउ परेका व्यक्तिमध्ये अनुप मिश्रले सन् २०२१ मे महिनादेखि हालसम्म बाइनान्स अकाउन्ट प्रयोग गरि यूएसडीटी, इथेरियम, भेट, अल्फा लगायतका २० वटा क्रिप्टोकरेन्सीहरु ३५ करोड ४६ लाख ८३ हजार ६११ रुपैयाँ बराबरको कारोबार गरेको भेटिएको प्रहरीले जनाएकाे छ ।

उनीसँग हाल १२,८३२ डलर रकम बराबरको बिटक्वाइन मौज्दात रहेको पाइएको छ ।

त्यस्तै अर्का व्यक्ति दिपेश थापाले सन् २०२१ मेदेखि हालसम्म दुई वटा बाइनान्स अकाउन्टमा सातवटा क्रिप्टोकरेन्सीहरु मार्फत् २४ करोड ७९ लाख ५६ हजार ९१८ रुपैयाँ बराबरको कारोबार गरेको पाइएको हो ।

उनीसँग हाल १,३९९ डलर बराबरको बिट्क्वाइन बाकीँ छ ।

राहुल चचानले भने करिब १ वर्षदेखि हालसम्म २० वटा क्रिप्टोकरेन्सीहरुमा छ करोड ५३ लाख ३९ हजार ४३९ रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ । हाल उनको अकाउन्टमा ६५१ डलर बराबरको क्रिप्टो बाँकी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२