close

यस्तो हुनेछ ट्वीटरको एडिट बटन

टेकपाना टेकपाना

बैशाख ७, २०७९ १२:४८

यस्तो हुनेछ ट्वीटरको एडिट बटन

काठमाडौं । पछिल्लो समय ट्वीटरमा एडिट बटन थप हुने विषय निकै चर्चामा छ । विशेष गरी टेस्लाका सीईओ एलन मस्कले ट्वीटरमा लगानी गरेसँगै यो विषयले अझ धेरै चर्चा पाएको छ ।

आफूले ट्वीटरमा लगानी गरेको विषय सार्वजनिक गर्नु अघि मस्कले ‘ट्वीटरमा एडिट बटन आवश्यक छ ?’ भन्दै ट्वीटर पोल गरेका थिए । उनको उक्त पोलमा लाखौँ फलोअरले आवश्यक रहेको प्रतिक्रिया दिएका थिए ।

त्यससँगै मस्कले ट्वीटरमा लगानी गरेको विषय सार्वजनिक भएको थियो । हुन त ट्वीटरमा सबैभन्दा बढी शेयरका साथ भित्रिएका मस्कको उक्त पोल आउनु पूर्व नै ट्वीटरले एडिट बटन उपलब्ध गराउने विषयको चर्चा नचलेको भने होइन ।

ट्वीटर आफैँले पनि एक वर्ष अघिबाटै एडिट बटनमा काम गरिरहेको जानकारी दिएको थियो । साथै चाँडै प्रयोगकर्तामाझ उपलब्ध गराउने समेत जनाएको थियो ।

यसै बीच एप रिसर्चर तथा डेभलपर निमा ओउजीले ट्वीटरले उपलब्ध गराउने एडिट बटनको जीआईएफ सार्वजनिक गरेका छन् ।

जसमा प्रयोगकर्ताले गरेको ट्वीटमा केही गल्ती भएको खण्डमा सहजै एडिट अर्थात सम्पादन गर्न सकिने देखिएको छ । निमाले यो फिचर ट्वीटरका कस्ता प्रयोगकर्तालाई उपलब्ध हुनेछ भन्ने विषयमा भने केही खुलाएका छैनन् ।

किन भने यसअघि ट्वीटरले यो फिचर ब्लु टिक भएका प्रयोगकर्ताको हकमा मात्रै उपलब्ध गराउने विषय चर्चामा रहेको थियो । त्यसैले यो फिचर कसलाई र कहिलेबाट उपलब्ध हुन्छ भन्ने विषयमा भने कम्पनीको आधिकारिक भनाई पर्खिनुको विकल्प छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२