काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धका कारण यतिबेला धेरै देश तथा कम्पनीहरूले रुसमाथि प्रतिबन्ध लगाइरहेका छन् । प्रविधि कम्पनीको हिसाबले एप्पल, अमेजन, गुगल, फेसबुकजस्ता कम्पनीले यसअघि नै प्रतिबन्धको निर्णय गरिसकेका छन् ।
देशको हिसाबले अमेरिका साथै युरोपका कतिपय देशले रुसमाथि प्रतिबन्ध लगाएका छन् । यस्तोमा हालसम्म रुसलाई सहयोग गर्ने शक्ति राष्ट्रमध्येमा चीनमात्रै देखिएको छ ।
सरकारले रुसको पक्षमा देखिए पनि केही चिनियाँ कम्पनीहरूले भने रुसको साथ छोड्ने निर्णय लिएका छन् । जसमा ह्वावे पहिलो चिनियाँ कम्पनी बनेको थियो ।
रुसको दूरसञ्चार पूर्वाधारमा झन्डै ७० प्रतिशत बजार हिस्सा ओगटेको ह्वावेले युद्ध जारी रहँदासम्मका लागि आफ्नो कार्यालय सञ्चालनमा ल्याउन नसक्ने जनाइसकेको छ । त्यतिमात्र नभएर युद्धको कारण देखाउँदै आवश्यक सेवा समेत उपलब्ध गराउन नसक्ने उसको स्पष्टोक्ति छ ।
जसको असर रुसको दूरसञ्चार क्षेत्रमा परिरहेको उल्लेख छ । यसैबीच अर्को चिनियाँ कम्पनी पनि ह्वावेको बाटोमा देखिएको छ । एलसीडी, ओएलईडी तथा एमोलेड डिस्प्ले निर्माता कम्पनी बीओईले रुसमा रहेको आफ्नो उत्पादन गृह बन्द गर्ने निर्णय लिएको छ ।
कम्पनीले युद्धका कारण आवश्यक कच्चा पदार्थ ढुवानीमा समस्या भएको र कम्पनीमा कार्यरत कर्मचारीको सुरक्षाको कारण देखाउँदै रुस स्थित आफ्नो कार्यालय बन्द गरेको हो ।