काठमाडौं । कम्युटर अशाेसिएसन अफ नेपाल (क्यान) महासघंको आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२२ सुरु भएको छ । वर्षेनि आयोजना हुँदै आएको याे मेला कोभिड महामारीका कारण दुई वर्षयता हुन सकेको थिएन ।
बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २७औं संस्करणको क्यान इन्फाेटेक उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री कार्कीले निजी क्षेत्रसँग सहकार्य गरी नेपालमा आईसीटी क्षेत्रको विकास विस्तारमा सरकारले काम गरिरहेको भनाइ राखे ।
क्यान महासंघले सूचना प्रविधिको प्रवर्द्धन तथा चेतना विस्तारमा उल्लेख्य भूमिका खेलेको भन्दै मन्त्री कार्कीले प्रशंसासमेत गरे । साथै उनले सरकारी कार्यालयलाई पेपरलेस बनाउने अभियान थालिएको र यसको सुरुवात आफ्नो मन्त्रालयबाट सुरु भएको जानकारी दिए ।
६ दिनसम्म चल्ने क्यान इन्फाेटेक मेलामा विभिन्न कम्पनीका १७० स्टल छन् ।
यसअन्तर्गत ब्रान्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्टअप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, ई–वेष्ट म्यानेजमेन्ट, ई-गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाई-फाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्ड रहेका छन् ।
अवलाेकनर्ताले इन्फाेटेक मेलामा विभिन्न सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउनसक्ने आयोजकले जनाएको छ ।
साथै सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी र हार्ड डिस्क पनि मेलामा उपलब्ध छन् ।
यसैगरी आईओटी, ब्लक चेन तथा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।
क्यान महासंघका अध्यक्ष नवराज कुँवरले यसपाली ब्राण्डिङका साथै स्टार्टअप र इनोभेसनको प्रवर्द्धनलाई विशेष जोड दिइएको छ ।
मेलाको अवसर पारी कम्पनीहरूले छुट तथा अफर समेत घोषणा गरेका छन् । मेलाको शीर्ष प्रायोजक आईएमई पेले रु. १ मै टिकट काट्ने सुविधा दिएको छ । त्यस्तै डिशहोमले १०० एमबीपीएस इन्टरनेट प्याकेजमा विशेष छुट ल्याएको जानकारी दिएको छ ।
त्यस्तै नमस्ते पे पहिलो पटक इन्स्टल गरी पहिलो कारोबार गर्ने प्रयोगकर्तालाई कम्पनीले क्यासब्याक उपलब्ध गराउने जनाएको छ । त्यस्तै स्प्यारो एसएमएसले ५ हजार रुपैयाँमा ५ हजार एसएमएस पठाउने सुविधा दिएको छ ।
साथै कम्पनीले भाइबर म्यासेजिङ र ब्रोडकास्ट म्यासेज पठाउने सुविधा पनि सुरूवात गरेको छ । त्यस्तै नेटवर्किङ ब्राण्ड डिजिकमले आफ्ना उत्पादनमा विशेष अफर ल्याएको जानकारी दिएको छ ।
मेलामा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सका विद्यार्थीले आफूले इनोभेटिभ प्रडक्ट प्रदर्शनी गरेका छन् ।
क्यान इन्फोटेकलाई साढे तीन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।
यस पटकको मेलालाई आईएमई पेले शीर्ष प्रायोजन गरेको छ भने सह प्रायोजको रुपमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) रहेको छ ।
साथै प्लेटिनम प्रायोजकमा वर्ल्डलिङ्क कम्युनिकेसन्स, डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट, गोल्ड प्रायोजकमा नेपाल टेलिकम, सिल्भर प्रायोजकमा नमस्ते पे, एस–पावर र डिजिकम रहेका छन् ।