काठमाडौं । टिकटकले आफ्ना क्रियटरका लागि आम्दानीको नयाँ बाटो खुला गर्ने भएको छ । कम्पनीले टप क्रियटरसँग उनीहरूको कन्टेन्टमा विज्ञापन चलाएवापत आम्दानीको निश्चित प्रतिशत उपलब्ध गराउने योजना बनाएको हो ।
योसँगै युट्युबमा जसरी क्रियटरले आम्दानी गरिरहेका छन्, त्यसरी नै टिकटकमा पनि आम्दानी हुनेछ । युट्युबमा भन्दा टिकटकमा सहजै रकम निकाल्नसक्ने भएकाले क्रियटरले यसबाट पर्याप्त आम्दानी गर्नसक्ने दावी कम्पनीको छ ।
‘नयाँ कार्यक्रम ‘टिकटक पल्स’ अन्तर्गत टिकटकमा भएका कूल भिडिओको चार प्रतिशत भिडिओमा विज्ञापन चल्नेछ,’ कम्पनीले आफ्नो ब्लगमा लेखेको छ, ‘यदि यो कार्यक्रममा कुनै क्रियटर भिडिओ समावेश भएको छ भने त्यसबाट आम्दानी गर्न अकाउन्टमा न्यूनतम एक लाख फलोअर हुन आवश्यक छ ।’
टिकटककी जेनेरल मेनेजर स्यान्डी ह्वाकिन्सका अनुसार कम्पनीले आफ्ना क्रियटरलाई विज्ञापनबाट आम्दानी भएको ५० प्रतिशत उपलब्ध गराउने छ ।
युट्युबले क्रियटरलाई ५५ प्रतिशत दिएर आफू ४५ प्रतिशत राख्छ । तर, टिकटकले भने ५० प्रतिशतमात्रै दिने भएको हो । ह्वाकिन्सका अनुसार टिकटकको पल्स कार्यक्रम अमेरिकामा यही जुनमा सार्वजनिक हुनेछ ।
हालसम्म टिकटकले क्रियटरको फलोअरको आधारमा उनीहरूलाई चयन गरी ‘क्रियटर फन्ड’ मार्फत रकम उपलब्ध गराउँदै आएको थियो । तर, क्रियटरले भने त्यसबाट कम आम्दानी हुने गरेको गुनासो गरेका थिए ।