close

६ महिनापछि एलन मस्क आफैं ट्विटरको सीईओ बन्ने दाबी

टेकपाना टेकपाना

बैशाख २३, २०७९ १६:२६

६ महिनापछि एलन मस्क आफैं ट्विटरको सीईओ बन्ने दाबी

काठमाडौं । ट्विटर खरिदको औपचारिक प्रक्रिया सकिएपछि एलन मस्क आफैं अस्थायी सीईओ बन्ने भएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम सीएनबीसीका पत्रकार डेभिड फेबरले स्रोतलाई उल्लेख गर्दै अस्थाई रुपमा मस्क आफैंले कम्पनीको नेतृत्व गर्ने दाबीसहितको जानकारी सार्वजनिक गरेका हुन् ।

ट्विटर खरिदका लागि बैंकबाट ऋण लिंदा मस्कले आफै कम्पनीको सीईओ हुने प्रस्ताव गरेको सार्वजनिक जानकारीमा दाबी गरिएको छ ।  यहि तथ्यको आधारमा मस्कले ट्विटरको नेतृत्व गर्ने दाबी गरिएको हो ।

टेस्लाका मालिक मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने सम्झौता गरेका थिए । मस्कले ट्विटर खरिद गरेको प्रक्रिया समाप्त हुन थप ६ महिना लाग्ने बताइएको छ । खरिद प्रक्रिया सकिएपछि मस्क सीईओ बन्न पनि ट्विटर बोर्डले स्वीकृत गर्नुपर्ने हुन्छ । मस्कले सीईओ बन्न चाहे पनि कम्तिमा ६ महिना भने हालका सीईओ पराग अग्रवाल नै नेतृत्वमा रहने पक्कापक्की छ । 

ट्विटरका संस्थापक तथा पूर्व सीईओ ज्याक डोर्सीले पद छाडेलगत्तै भारतीय मूलका अमेरिकी नागरिक अग्रवाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा आएका आएका थिए । उनी कम्पनीको प्रमुखको भूमिकामा आएको ६ महिना पूरा हुँदैछ ।

१५ वर्ष ट्विटरको नेतृत्व गरेका डोर्सीपछि नेतृत्वमा आएका अग्रवाल ठूला प्रविधि कम्पनीका कान्छा नेतृत्वकर्तामध्ये एक हुन् । उनी ३७ वर्षको उमेरमा ट्विटरको सीईओ बनेका हुन् । 

ट्विटरका इन्जिनियरको रुपमा सन् २०११ मा काम सुरु गरेका उनी सन् २०१७ मा प्रमुख प्राविधिक अधिकृतमा बढुवा भएका थिए । डोर्सीको नजिक रहेर विभिन्न परियोजनामा संलग्न भएर काम गरेका अग्रवाल डोर्सीकै प्रस्तावमा कम्पनीको सीईओ नियुक्त भएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२