close

के ट्रम्पको प्रोत्साहनमा एलन मस्कले ट्वीटर किन्ने निर्णय गरेका हुन् ? 

टेकपाना टेकपाना

बैशाख २४, २०७९ २०:६

के ट्रम्पको प्रोत्साहनमा एलन मस्कले ट्वीटर किन्ने निर्णय गरेका हुन् ? 

काठमाडौं । एलन मस्कले ट्ववीटर खरिद गर्ने चर्चा चलेदेखि नै अन्तर्राष्ट्रिय समाचार माध्यममा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ट्वीटरमा फर्किन सक्छन् भन्ने विषय उठान भएको थियो । यसैबीच ट्रम्पका कारण मस्कले ट्वीटर खरिद गर्ने निर्णय गरेको चर्चा पनि चलेको छ ।

यो चर्चा ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ का सीईओ डेभिन नन्सको अभिव्यक्तिपछि चल्न सुरु भएको हो । फक्स बिजनेस नेटवर्क च्यानलमा बोल्दै नन्सले ट्रम्पका कारण मस्कले ट्वीटर किन्ने निर्णय गरेको बताएका थिए ।

उनले ट्रम्पले नै मस्कलाई ट्वीटर खरिद गर्न सुझाएको पनि बताएका थिए । आफ्नो कम्पनीको उद्देश्य पारिवारिक र सामाजिक प्लेटफर्म सिर्जना गर्नु भएका कारण ट्रम्पले एलन मस्कलाई ट्वीटर खरिद गर्न प्रोत्साहन गरेको डेभिनको भनाइ छ ।

ट्रम्पले अमेरिकी नागरिकका लागि इन्टरनेट खुल्ला छ भन्ने सन्देश दिन चाहेकाले मस्कलाई प्रोत्साहन गरिएको उनले बताएका छन् ।

यसपछि यो कुरा धेरै अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समाचारको रुपमा छापिएको थियो । यद्यपि एलन मस्कले भने यो कुरा झुट भएको दाबी गरेका छन् ।

‘न्यू योर्क पोस्ट’ ले पनि यो समाचार छापेर ट्वीटरमा शेयर गरेको थियो । सोही ट्वीटमा रिप्लाई गर्दै मस्कले यो कुरा झुट भएको बताएका छन् ।

उनले लेखेका छन् ‘यो गलत हो । मैले ट्रम्पसँग, प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रूपमा सम्पर्क गरेको छैन ।’

विश्वकै धनाढ्य व्यक्ति मस्कले लोकप्रिय सोसल मिडिया प्लेटफर्म ट्वीटरको स्वामित्व ४४ अर्ब डलरमा खरिद गर्ने सहमति भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२