close

राष्ट्रिय परिचयपत्रको छपाइ सुरु, पहिलो चरणमा ३० लाखलाई बाँड्ने लक्ष्य

टेकपाना टेकपाना

बैशाख २६, २०७९ १९:५६

राष्ट्रिय परिचयपत्रको छपाइ सुरु, पहिलो चरणमा ३० लाखलाई बाँड्ने लक्ष्य

काठमाडौं । राष्ट्रिय परिचयपत्रको छपाइ प्रक्रिया सुरु भएको छ । सोमबार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको कार्यालयमा आयोजित एक कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले छपाइ कार्यको शुभारम्भ गरे ।

फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट पहिलो चरणमा साढे ३१ लाख बराबरको कार्ड आपूर्ति भएसँगै विभागले औपचारिक रुपमा राष्ट्रिय परिचयपत्र छपाइ कार्य सुरु गरेको हो ।

साथै जारी आर्थिक वर्षमै थप १९ लाख गरी कूल ५० लाख कार्ड छाप्ने तयारी भइरहेको विभागका सूचना अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।

मसिनले घण्टामा एक हजार १०० कार्ड छाप्नसक्ने जनाइएकाे छ । विभागले असार मसान्तअघि नै ३० लाख कार्ड वितरण गर्ने लक्ष्य राखेपनि ढिलो गरी छपाइ सुरु भएकाले केही समय धकेलिन सक्ने ढकालले बताए ।

त्यसैगरी आगामी आर्थिक वर्षसम्म थप ७० लाख कार्ड आपूर्ति गरी कूल एक करोड २० लाख राष्ट्रिय परिचयपत्र छाप्ने योजना रहेको उनले जानकारी दिए ।

‘हालसम्म विभागले ६७ लाख ७९ हजार ६४२ जनाको वैयक्तिक तथा जैविक विवरण संकलन गरेको छ । यसअन्तर्गत ३० जिल्लामा विवरण संकलनको कार्य सम्पन्न भइसकेको छ भने १३ वटा जिल्लामा संकलन कार्य भइरहेको छ । साथै ७७ वटै जिल्लामा स्थायी युनिट खडा गरिएको छ,’ उनले टेकपानासँग भने ।

सम्बन्धित समाचार:
राष्ट्रिय परिचयपत्र के हाे र कसरी लाभ लिने ?
बैंक र टेलिकम सेवामा अनिवार्य गरिँदै राष्ट्रिय परिचयपत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२