युक्रेनलाई इन्टरनेट उपलब्ध गराएको भन्दै एलन मस्कलाई रुसको चेतावनी, यसरी दिए जवाफ
बैशाख २७, २०७९ ८:३८
काठमाडौं । युक्रेनमा इन्टरनेट दिने विषयलाई लिएर रुसको अन्तरिक्ष एजेन्सी प्रमुखले टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई चेतावनी दिएका छन् । स्टारलिङ्कमार्फत विश्वभर बिम इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यका साथ ५० वर्षीय मस्कले पृथ्वीको तल्लो कक्षमा दुई हजार भन्दा बढी स्याटलाइट राखेका छन् ।
जसले गर्दा रुसी आक्रमण जारी रहँदा समेत स्टारलिङ्कले युक्रेनलाई अनलाइनमा कायम रहन सघाएको छ । गत अप्रिलमा डलर अर्बपति मस्कले आफ्नो इन्टरनेट सेवामाथि रुसबाट ह्याकिङ र जामिङको प्रयास भइरहेको बताएका थिए ।
रुसी अन्तरिक्ष एजेन्सी रसकोमसका प्रमुख दिमित्रि रोगोजिन रुसी सञ्चार माध्यमलाई आइतबार उपलब्ध गराएको सूचनाको विषयलाई उल्लेख गर्दै मस्कले ट्वीट गरेका छन् । रोगोजिनले उक्त बयान स्वयम्ले टेलिग्राममा समेत राखेका छन् ।
रोगोजिनले आइतबार मात्रै रुसले आधा घण्टामा नाटोमा संलग्न सबै देशलाई ध्वस्त पार्न सक्ने चेतावनी दिएका थिए । साथै उनले स्टारलिङ्क उपकरण उपलब्ध गराएको विषयलाई उल्लेख गर्दै मस्कलाई ‘नाजी अजोभ बटालियन’का साथै युक्रेनी सेनाको शाखाको रुपमा काम गरिरहेको आक्षेप समेत लगाएका छन् ।
‘पक्राउ परेका युक्रेनी सशस्त्र बलको ३६ औँ समुद्री ब्रिगेडका प्रमुख कर्मचारी कोलोनेल दिमित्री कोर्म्याङ्कोभको बयानका आधारमा स्पष्ट भएको छ कि एलन मस्कको स्टारलिङ्क स्याटलाइट कम्पनीले सैन्य हेलिकोप्टरबाट आफ्ना भूसतही ग्राहक उपकरण नाजी एजोभ बटालियन र मरियोपोलको युक्रेनको समुद्री सशस्त्र बलसम्म पुर्याएको छ,’ रोगोजिनले लेखेका छन् ।
‘यसबाट थाहा हुन्छ कि एलन मस्क युक्रेनमा रहेको फासिस्ट शक्तिका लागि सैन्य सञ्चार सामग्रीहरू आपूर्ति गर्ने कार्यमा संलग्न रहेका छन्,’ रोगोजिन अगाडि थप्छन्, ‘एलन, यसका लागि तिमीले परिपक्व जवाफ दिनुपर्नेछ, तिमी मुर्खतासँग कति खेल्न सक्छौ भन्ने कुराको कुनै अर्थ छैन ।’
अधिकारीहरूका अनुसार रुसी आक्रमणकारीलाई ट्रयाक गर्न र ड्रोन युद्ध जित्नका लागि समेत स्टारलिङ्कले युक्रेनलाई प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ । अर्बपति मस्कले रुसले दिएको चेतावनीलाई लिएर तत्कालै त्यसमाथि प्रतिक्रिया जनाएका छन् ।
The word “Nazi” doesn’t mean what he seems to think it does pic.twitter.com/pk9SQhBOsG
— Elon Musk (@elonmusk) May 9, 2022
‘नाजीको अर्थ उसलाई के लाग्छ, त्यो होइन,’ ट्वीटर कम्पनी खरिद गर्ने प्रक्रियामा रहेका मस्कले ट्वीट गर्दै भनेका छन् । त्यसमा उनले थपेका छन्, ‘यदि म रहस्यमयी परिस्थितिमा मरे भने त्यो थाहा पाउँदा राम्रै लाग्नेछ ।’ उक्त ट्वीटमा मस्ककी आमा माय मस्कसहित उनका थुप्रै फ्यानहरूले प्रतिक्रिया दिएका छन् ।
If I die under mysterious circumstances, it’s been nice knowin ya
— Elon Musk (@elonmusk) May 9, 2022
‘यो कुनै ठट्टाको चिज होइन,’ मस्ककी आमाले रिसाएको अनुहार भएका इमोजीसहित लेखेकी छन् । ‘माफ गर्नुहोला, जीवित रहन म मेरो तर्फबाट सकेसम्मको कोसिस गर्नेछु,’ मस्कले जवाफ दिएका छन् ।
त्यसो त मस्कसँग रोगोजिनको वाकयुद्ध युक्रेनमाथि रुसको आक्रमणसँगै सुरु भएको हो । बिजनेस इन्साइडरका अनुसार मस्कलाई ‘सानो सैतान’को उपमा दिँदै टेस्लाको साइबरट्रकको समेत आलोचना गरेका थिए ।
यति मात्र होइन, रोगोजिनले ट्वीटर खरिद गर्ने मस्कको प्रयास र स्वतन्त्र अभिव्यक्तिको माध्यम हुनुपर्ने उनको जिकिरलाई समेत ‘पैसाको झोला’ भन्दै हिलो छ्यापेका थिए । स्पेस एक्सले आफ्ना दुई हजारभन्दा बढी अन्तरिक्ष इन्टरनेट स्टारलिङ्क स्याटलाइट प्रक्षेपण गरिसकेको छ र सन् २०२६ सम्म त्यसको सङ्ख्या १२ हजार पुग्ने अपेक्षा राखिएको छ ।
जसको सहयोगमा पृथ्वीको तल्लो कक्षबाट विश्वभर सस्तो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने लक्ष्य रहेको छ । स्याटलाइट इन्टरनेट उपलब्ध हुन सुरु भए पनि त्यसले उच्च लेटेन्सी र अविश्वसनीय सम्पर्कको समस्या सामना गरिरहेको छ । तर स्टारलिङ्क अलिक फरक छ । स्पेस एक्सले भनेको छ कि विश्वभर केबल जस्तै उच्च गतिको इन्टरनेट उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
