काठमाडौं । एफवान सफ्ट इन्टरनेश्नलका अध्यक्ष विश्वास ढकाल ‘रेस्ट अफ वर्ल्ड’ ले तयार पारेको ‘१०० ग्लोबल टेक चेन्जमेकर’ को सूचीमा पर्न सफल भएका छन् ।
प्रविधि क्षेत्रमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने सिलिकन भ्याली र पश्चिमेली देशबाहिरका व्यक्तिमध्येबाट रेस्ट अफ वर्ल्डले यो सूची तयार पारेको हो
नेपालको अग्रणी फिनटेक कम्पनी हाँकिरहेका ढकालले देशमा प्रविधिमा आधारित नवीनतम वित्तीय समाधान ल्याउन भूमिका खेलेको रेस्ट अफ वर्ल्डले उल्लेख गरेको छ ।
‘नेपालका ९० प्रतिशत बैंकले एफवान समूहले ल्याएका १२ मध्ये कुनै एक साेलुसन प्रयोग गरिरहेका छन्, ‘रेस्ट अफ वर्ल्डले लेखेको छ,’ यसअन्तर्गत डिजिटल भुक्तानी कम्पनी फोनपे र देशकै पहिलो अनलाइन भुक्तानी गेटवे ई-सेवा समावेश छ, जसका ५० लाख बढी ग्राहक छन् ।’
ढकालले सन् २००४ मा यो कम्पनी स्थापना गरेका थिए, जतिबेला नेपालमा इन्टरनेट वा स्मार्टफोनको पहुँच निकै कम थियो । १८ वर्षको यो अवधिमा एफवान सफ्टले सयौं कम्पनी र लाखौं प्रयोगकर्तालाई प्रत्यक्ष सेवा प्रदान गरिरहेको छ ।
अध्यक्ष ढकालले आफ्ना एक करोड ८० लाख प्रयोगकर्ताहरूलाई विदेशमा भुक्तानी गर्न मद्दत गर्न फोनपेको विस्तारमा ध्यान दिइरहेको पनि रेस्ट अफ वर्ल्डले लेखेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
