काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले मत दिएको मतपत्रसहित सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
उनले गोरखा पालुङटार नगरपालिका-१ स्थित अन्नपूर्ण माविको बुथमा बिहान ८:२५ बजे मतदान गरेका थिए । मतदान गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दा उनले आफूले मत दिएको मतपत्रको तस्वीर पनि शेयर गरेका थिए, जसमा जनता समाजवादी पार्टीको चुनाव चिन्ह ‘छाता’ मा छाप हानेको सहजै देख्न सकिन्छ ।
उनले तस्वीर राखेको केही समयपछि नै निर्वाचनको आचारसंहिताको उल्लघंन भएको भनेर उनकै पोस्टमा धेरैले आलोचना गरेका थिए ।
हाल उनले अन्य फोटोहरू जस्ताको तस्तै राखे पनि मतपत्र देखिएको फोटो भने फेसबुक र ट्वीटर दुवैतिरबाट हटाएका छन् ।
फोटो हटाएपछि उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो। मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन । गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन !’
यद्यपि निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा भने मत सङ्केत सार्वजनिक गर्न नहुने भनेर उल्लेख गरिएको छ ।
गोरखा पानपा-१ स्थित अन्नपूर्ण माविको बूथमा विहान ८.२५ बजे मतदान गरेर लोकतान्त्रिक अधिकार र कर्तव्यको निर्वाह गरियो। सबैले मतदान गरौं; स्थानीय लोकतन्त्र सुदृढ गरौं! pic.twitter.com/sjZEbHEPvE