काठमाडौं । ठूलो संख्यामा सब्सक्राइबर घटेपछि नेटफ्लिक्सले कर्मचारी कटौती गर्न थालेको छ । कम्पनीले अमेरिकास्थित क्यालिफोर्नियामा कार्यरत १५० जना कर्मचारी हटाएको हो, जुन संख्या त्यहाँको कार्यालयमा काम गर्ने कर्मचारीको दुई प्रतिशत हो ।
कम्पनीले आफ्नो आम्दानीमा आएको गिरावटका कारण यस्तो निर्णय लिएको बताइएको छ । कोभिड-१९ सँगै बढेको सब्सक्राइबर संख्या पछिल्लो समय लगातार घटिरहेको छ ।
सन् २०२२ को पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको सब्सक्राइबर संख्या तीन लाखभन्दा बढीले घटेको छ । भने, आगामी दिनमा थप प्रयोगकर्ता गुमाउने आँकलन समेत गरिएको छ ।
यस्तोमा कम्पनीले खर्च कम गर्ने योजनाका साथ कर्मचारी कटौती गर्न थालेको हो ।
‘यो परिवर्तन कुनै व्यक्तिगत कार्यक्षमताले भन्दापनि बिजनेशको आवश्यकताले भएको हो,’ कम्पनीले भनेको छ, ‘हाम्रा राम्रा सहकर्मीलाई हामी ‘बाई’ भन्न चाहँदैन थियौं । तर, बाध्यात्मक अवस्थाले यो निर्णयमा कम्पनी पुगेको हो ।’
कम्पनीले हालसम्म जागिरबाट निकालेका कर्मचारी कुन विभागमा कार्यरत थिए भन्न विषयमा जानकारी दिएको छैन । केही सञ्चारमाध्यमले ती कर्मचारी कन्टेन्ट डिपार्टमेन्टमा कार्यरत रहेको उल्लेख गरेका छन् ।