close

नेपाली बजारमा पहिलो इलेक्ट्रिक क्रुजर बाइक

टेकपाना टेकपाना

जेठ ९, २०७९ ११:३५

नेपाली बजारमा पहिलो इलेक्ट्रिक क्रुजर बाइक

काठमाडौँ । नेपालमा विद्युतीय क्रुजर बाइक ‘कोमाकी रेन्जर’ भित्रिएको छ । पछिल्लो समय विद्युतीय स्कुटर र बाइक बिक्री गर्दै आएको कोमाकी रेन्जरका लागि नेपालको आधिकारिक बिक्रेता युनिटी ट्रेडिङ कन्सर्नले यो बाइक नेपाल ल्याएको हो ।

चार हजार वाटको मोटर र ८० एम्पिएरको कन्ट्रोलर राखिएको बाइकमा ७२ भोल्ट ५० एमएएच क्षमताको लिथियम आयन ब्याट्री छ । एक पटकको फुल चार्ज गर्न पाँचदेखि छ घण्टा लाग्ने यो बाइक १५० देखि १८० किलोमिटरसम्म गुड्ने कम्पनीले दावी गरेको छ ।

यो बाइकमा डबल डिस्क ब्रेक, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, रिमोटबाटै बाइक लक गर्न सकिने सुविधा, सेल्फ डायग्नोसिस, टेलिस्कोप सकर जस्ता अत्याधुनिक फिचर रहेका छन् ।

साथै, यसमा एन्टी थेफ्ट लक, अपराइड राइडिङ पोजिसन, प्यासेन्जर सिट, स्याडलब्याग्स, फोर्क माउन्टेड फेयरिङ र साइड स्ट्यान्ड सेन्सर जस्ता फिचर पनि उपलब्ध रहेका छन् ।

कम्पनीले चैत महिनामा यो बाइकको प्रि-बुकिङ खुल्ला गरेको थियो । बुक भएका बाइक भने यो साताभित्र ग्राहकलाई हस्तान्तरण गर्ने योजना भएको कम्पनीले जानकारी दिएको छ ।

इको, कम्फर्ट, स्पोर्ट्स एन्ड टर्बो गरी विभिन्न मोडमा उपलब्ध यो बाइक भारतीय बजारमा केही समयअघि सार्वजनिक भइसकेको छ । कालो, रातो र निलो गरी विभिन्न तीन फरक रङ्गमा उपलब्ध हुन कोमाकी रेन्जर बाइकको मूल्य चार लाख ३५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२