close

एलसीमा कडाइ गर्दा घट्यो मोबाइल आयात

टेकपाना टेकपाना

जेठ १०, २०७९ १५:४३

एलसीमा कडाइ गर्दा घट्यो मोबाइल आयात

काठमाडौं । अघिल्लो वर्षको तुलनामा यो वर्ष मोबाइल आयातमा गिरावट आएको छ । भन्सार विभागले हालै जारी गरेको वैशाख महिनासम्मको तथ्यांङ्कले नेपालमा मोबाइल आयात घट्दै गएको देखाएको हो ।

तथ्याङ्क अनुसार गएको चालू आवको  वैशाखसम्म ५३ लाख ६५ हजार ११५ ओटा मोबाइल भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै १० लाखले कम हो ।

गत आर्थिक वर्ष ०७७/७८ को पहिलो १० महिनामा ६३ लाख ५५ हजार २३४ ओटा मोबाइल भित्रिएको थियो । मोबाइल आयात १० लाखले घटेपनि आयात रकम भने उल्लेख्य रुपमा वृद्धि भएको छ ।

गत आवको पहिलो १० महिनामा ३२ अर्ब नाै करोडको मोबाइल आयात भएको थियो । तर, चालू आवमा मोबाइलको आयात संख्या १० लाखले घट्दा रकम भने झन्डै चार अर्ब बढेको छ ।

चालू आवको पहिलो १० महिनामा ३६ अर्ब ९४ करोडभन्दा बढीको मोबाइल आयात भएको तथ्याङ्कमा उल्लेख छ । यसरी मोबाइलको आयात घट्नुको प्रमुख कारण बैंकहरूले प्रतीतपत्र (एलसी) रोक्नु हो ।

सरकारले विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्नसक्ने भन्दै महँगा फोनसहितका विलासी सामानका लागि प्रतीतपत्र (एलसी) खोल्न प्रतिबन्ध लगाएको छ । एलसी बन्द गर्दा महँगा फोनको आयात ठप्प भएकाे छ ।

मोबाइल आयात घटेको भएपनि मोबाइल आयातका लागि खर्च भएको रकम भने वृद्धि भएको छ । यसअघि विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्नसक्ने भन्दै राष्ट्र बैंकले चैतको तेस्रो साताबाट असार मसान्तसम्मका लागि एलसी ठप्प बनाउन बैंकहरूलाई निर्देशन दिएको थियो ।

त्यसैका आधारमा बैकर्स संघको बैठकले मोबाइलसहित निजी गाडी, चुरोट, रक्सी, सजावटका सामग्री लगायत विलासी सामग्रीका लागि एलसी नखोल्ने निर्णय गरेको थियो । त्यसयता ७० हजार माथिका मोबाइल आयातमा प्रतिबन्ध लागेको छ ।

तथ्याकं अनुसार पछिल्लाे १० महिना (वैशाखसम्म) अवधिमा चीनबाट मात्रै २२ अर्ब बराबरको ४२ लाख ४६ हजार २६० ओटा मोबाइल भित्रिएको छ ।

त्यस्तै भारतबाट १२ अर्ब रूपैयाँ बराबरको आठ लाख ८१ हजार सात सय मोबाइल भित्रिएको छ । भने, भियतनामबाट एक अर्ब ६१ करोड बराबरको दुई लाख तीन हजार ५६९ ओटा मोबाइल भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२