close

 मेटाको भर्चुअल दुनियाँमा महिलामाथि यौन दूर्व्यवहार

टेकपाना टेकपाना

जेठ १३, २०७९ १४:४५

 मेटाको भर्चुअल दुनियाँमा महिलामाथि यौन दूर्व्यवहार

काठमाडौं । मेटाको भर्चुअल रियालिटी प्लेटफर्म ‘होराइजन वर्ल्ड’ मा एक २१ वर्षीया अनुसन्धानकर्ताको भर्चुअल अवतारमाथि यौन हिंसा भएको पाइएको छ । मेटाभर्समा यौन हिंसा भएको यो पहिलो घटना भने होइन । यसअघि पनि गत वर्ष मेटाभर्सकै सहसंस्थापक निना जेन पटेलको अवतारको नजिक गएर एक पुरुष अवतार जथाभावी बोली दुर्व्यवहार गरेको, उनको इच्छाबिना उनको अवतारलाई छोइरहेको र अनावश्यक फोटो खिचेको घटना बाहिरिएको थियो । 

यो पटक भने मेटाको भर्चुअल रियालिटी प्लेटफर्म होराइजन वर्ल्डमा २१ वर्षीया अनुसन्धानकर्ताको अवतारलाई यौन दुर्व्यवहार भएको अभियानकर्ताले बीबीसीलाई बताएका छन् । बीबीसीमा प्रकाशित समाचार अनुसार कम्पनीको सामाजिक उत्तरदायित्व सम्बन्धि विविध कामहरू गर्ने समूह समअफअस (SumOfUS) समूहले आफ्नो एक अनुसन्कधानकर्ता माथि यौन दूर्व्यवहार भएको भन्दै फेसबुकको कम्पनी मेटाभर्समा नकारात्मक कुरा कम गर्न योजना बनाउनु पर्ने सल्लाह दिएको छ । 

मेटाले भने होराइजन वर्ल्डमा प्रयोगकर्ताको सकारात्मक अनुभवका लागि सुरक्षा पूर्ण रुपमा प्रत्याभुत गराइएको बताउँदै आएको छ । हाल मेटाभर्सको भर्चुअल रियालिटी (होराइजन वर्ल्ड) अमेरिका र क्यानडामा मात्र उपलब्ध छ । यसमा प्रयोगकर्ताले आफ्नो कार्टुन जस्तो अवतार बनाई भर्चुअल रियालिटीमा सहभागी हुन सक्छन् । 

समअफअस समूहको अभियान निर्देशक (क्याम्पेन डाइरेक्टर) बिक्की वायटले त्यो घटना साँच्चिकै शरीरमा नभई अवतारमा भएको भए पनि यो घटना निकै नै संवेदनशील भएको बताएकी छन् । यद्यपि विभिन्न अध्ययनका लागि सो घटना महत्वपूर्ण हुने भन्दै उनले घटनाको रेकर्ड राखेको बताएकी छन् । 

सो भिडियो भर्चुअल यौन हिंसामा परेकी महिलाको अवतारबाट हेरिएकोले त्यसमा उनको अवतार देखिँदैन । त्यस कोठामा दुई पुरुष अवतारहरू देखिन्छन् । एउटा उनको समीपमा जान्छ र अर्कोले टाढाबाट हेरिरहेको देखिन्छ । त्यस्तै ती पुरुषहरूले अश्लिल शब्द बोल्दै भर्चुअल मद्यपान गरेको देखिने बीबीसीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२