काठमाडौं । ई–कमर्स प्लेटफर्म दराजले स्वदेशी उत्पादन प्रबर्द्धन गर्ने उद्देश्यले ‘प्राउड्ली नेपाली – प्रोमोटिङ नेपाली ब्रान्ड’ नामक अभियान आजबाट सुरु गरेको छ ।
यो अभियान मार्फत कम्पनीले नेपाली ब्रान्डहरूलाई गुणस्तरीय उत्पादन बिक्री गर्न र आफ्नो व्यवसायलाई अनलाइन प्लेटफर्ममा प्रवर्द्धन गर्न प्रोत्साहन गर्ने बताइएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिदैँ कम्पनीले स्थानीय ब्रान्डहरूलाई अनलाइन बजारमा आफ्नो उपस्थिति बढाउन प्रोत्साहन गरिने कम्पनीको भनाई छ ।
यो भन्दा अगाडि पनि दराज सहयात्री तथा सारथी जस्ता विगतका कार्यक्रमहरूले ११,००० भन्दा बढी बिक्रेताहरूलाई आफ्नो व्यवसाय अनलाइनमा ट्रान्सफर गर्न सहयोग पुगेको कम्पनीको भनाई छ । यो अभियान मार्फत दराजले नेपाली ब्रान्डहरूलाई अनलाइनमा आफ्नो उपस्थिति र भिजिबिलिटी बढाउन मद्दत गर्ने कम्पनीले प्रेस विज्ञप्ती मार्फत बताएको छ ।
‘नेपाल जस्तो आयातमुखी देशमा उपभोक्ताहरूमा स्थानीय सामानहरू राम्रो हुँदैन भन्ने एउटा धारणा छ जसलाई यो अभियानले परिवर्तन गर्नको लागि प्रयास गर्नेछ,’ विज्ञप्तीमा उल्लेख छ । नेपाल उद्योग वाणिज्य महासंघ र एसएडब्लुडीएफ सँगको सहकार्यमा देशैभर एकैसाथ सुरु भएको यो अभियानमा दराजले विभिन्न माध्यम मार्फत नेपाली ब्रान्डहरू प्रबर्द्धन गर्दैछ ।