काठमाडौं । नर्थवेस्टर्न युनिभर्सिटी अमेरिकाका इन्जिनियहरूले संसारको सबैभन्दा सानो रिमोट-नियन्त्रित हिँड्ने रोबोट आविष्कार गरेका छन् । यो रोबोटको आकार करिब आधा मिलिमिटर छ ।
सीएनएनमा प्रकाशित समाचार अनुसार यो रोबोट बनाउन डेढ वर्ष समय लागेको थियो । गंगटो जस्तै देखिने यो रोबोट घुम्न र उफ्रन सक्छ ।
सुरुमा कागजको टुक्राजस्तै देखिने रोबोटले विभिन्न आकार बनाउन सक्छ । यो रोबोट कुनै हार्डवेयर वा इलेक्ट्रोनिक वस्तुबाट सञ्चालित हुँदैन ।
यो एउटा यस्तो सामग्रीबाट बनेको छ, जसलाई तताएपछि मात्र चल्नसक्छ । इन्जिनियरहरुले यसलाई लेजरहरू प्रयोग गरेर तात्न सकिेने बनाएका छन् ।
हाल यो शैक्षिक प्रयोजनका लागि बनाएको भएपनि भोलिको दिनमा यो रोबोट शल्यक्रिया लगायतका कामहरूमा प्रयोग गर्न सकिने जनाइएकाे छ ।