close

जब ह्याकरले ५ गरिब बच्चाका लागि केएफसी खरिद गर्न लगाए

टेकपाना टेकपाना

जेठ १४, २०७९ १९:६

जब ह्याकरले ५ गरिब बच्चाका लागि केएफसी खरिद गर्न लगाए

काठमाडौं । ह्याकर विशेषगरी र्‍यानसमवेयर समूह भन्ने वित्तिकै हाम्रो दिमागमा कुनै कम्पनीको डेटा चोरी गर्ने र उक्त डेटा सकुशल फिर्ता गर्न निश्चित रकम माग्ने समूह भनेर आउने गर्छ ।

यद्यपि हालै साइबर सेक्युरिटी कम्पनी क्लाउडसेकले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार ‘गुडविल’ नामक एक र्‍यानसमवेयर समूहले पीडित (जसको डेटा चोरी भएको हो) लाई डेटा फिर्ताको बदला पाँच गरिब बालकका लागि केएफसी (केनटकि फ्राइड चिकेन) खरिद गर्न लगाएको छ ।

गुडविल समूह भारतको मुम्बईबाट सुरु भएको हुनसक्ने रिपोर्टमा उल्लेख छ । अन्य सामान्य र्‍यानसमवेयर आक्रमणहरू जस्तो गुडविलको आक्रमणमा कुनै रकम माग गरिँदैन ।

गुडविलले भिक्टिमहरूलाई परोपकारका तीन विचित्र काम गर्न निर्देशन दिन्छ । आजसम्म यो समूहले कतिजना यसरी लक्षित गरेर आक्रमण गर्‍यो अनि कतिले डेटाको बदला परोपकारी काम गर्‍यो भन्ने विषयमा रिपोर्टमा उल्लेख गरिएको छैन ।

यद्यपि समूहले अह्राउने कामहरूको बारेमा भने जानकारी दिइएको छ । यसमा सडक छेउका बस्ने खाँचोमा परेका मानिसहरूलाई नयाँ लुगा/कम्बल उपलब्ध गराउन र यस कार्यक्रमको भिडियो बनाएर प्रमाण सहित सामाजिक सञ्जालमा पोस्ट गर्नुछ ।

त्यस्तै गरी दोस्रो काममा साँझको समयमा छिमेकमा भएका कुनै पनि पाँच गरीब बच्चाहरू (१३ वर्ष मुनिका) छनोटगरी उनीहरूलाई डोमिनोज / पिज्जा हट वा केएफसीमा लगेर खाना दिनुपर्छ । तेस्रो भनेको खर्च गर्न नसक्ने कसैको मेडिकल बिलहरूको भुक्तान गरिदिनु रहेको छ ।

यी कामहरू गरिसकेपछि सो व्यक्तिले कम्पनीले भिडिओ तथा तस्वीर बनाएर आफ्नो सामाजिक सञ्जालको अकाउन्टमा सार्वजनिक गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४