काठमाडौं । विश्वमा बढिरहेको मूल्य वृद्धिका बीच कोरियाली कम्पनी सामसङले आफ्नो स्मार्टफाेन उत्पादन संख्या घटाउने भएको छ । सामसङले सन् २०२२ मा आफ्नो उत्पादन संख्या तीन करोडले कम गर्ने जानकारी बाहिरिएको हो ।
यसको अर्थ हो सामसङले आफ्नो नियमित उत्पादन संख्याभन्दा तीन करोड स्मार्टफोन कम उत्पादन गर्नेछ ।
उत्पादन कम गर्नुको पछाडि मुख्य कारण बढ्दो मूल्यवृद्धि, बढ्दो उपभोक्ता खर्च र कच्चा पदार्थको अभाव रहेको बताइएकाे छ ।
खर्च कटौतीको कारण देखाउँदै यो वर्ष सामसङले स्मार्टफोन उत्पादनमा तीन करोड थान कटौती गर्ने बताइएको छ, जबकि यो वर्ष ३१ करोड थान स्मार्टफोन उत्पादन गर्ने कम्पनीको लक्ष्य थियो ।
तर पछिल्लो घटनाक्रमले कोरियाली प्रविधि समूहलाई आफ्नो लक्ष्य २८ करोड थानमा फर्काउन बाध्य पारेको छ ।
यो वर्षको पहिलो त्रैमासमा सामसङले रेकर्ड-ब्रेकिङ आम्दानी गरेको थियो भने करिब सात करोड ३० लाख स्मार्टफोन बजारमा वितरण गरेको थियो ।
यद्यपि कम्पनीले आफ्नो लक्ष्यसँग सम्झौता गर्ने निर्णय गरेको छ ।