काठमाडौं । युरोपेली बजारमा आफ्नो सेवा विस्तार गर्ने योजनाका साथ क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी बाइनान्सले इटालीमा कम्पनी दर्ता गराएको छ । केही महिना अघिबाट कम्पनीले इटालीमा आफ्नो कारोबार सुरु गरेको थियो । तर, शुक्रबारबाट भने दर्ता भएर आधिकारिक रुपमा सेवा सुरु भएको जनाएको छ ।
दर्ता भएसँगै अब कम्पनीले इटालीमा आफ्नै कार्यालय स्थापना गरेर सेवा सञ्चालन गर्न सक्ने उल्लेख छ । एक महिना अगाडि मात्र कम्पनी फ्रान्समा दर्ता भएको थियो ।
युरोपेली बजारमा आक्रामक रुपमा आफ्नो कारोबार अगाडि बढाइरहेको बाइनान्सले आगामी दिनमा स्विजरल्यान्ड, स्विडेन, स्पेन, नेदरल्यान्ड, पोर्चुगल र अष्ट्रेलियामा पनि दर्ता गरेर सेवा विस्तार गर्ने योजना बनाएको अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ ।