close

के हो टिकटकले परीक्षण गरिरहेको ‘क्लियर मोड’ ?

टेकपाना टेकपाना

जेठ १८, २०७९ ११:४२

के हो टिकटकले परीक्षण गरिरहेको ‘क्लियर मोड’ ?

काठमाडौं । टिकटकमा भिडिओ स्क्रोल गरिरहँदा झुक्किएर भिडिओमा लाइक हुने, अकाउन्ट फलो हुने तथा भिडिओ फेभरेटमा क्लिक हुने समस्या कतिले भोग्नुभएको छ ?

कहिलेकाहीँ त स्क्रोल गर्न खोज्दा अनावश्यक अकाउन्टलाई फलो हुँदा दिक्क पनि लाग्ने गर्छ । तर अब भने यो समस्याबाट मुक्ति पाइने भएको छ ।

टिकटकले प्रयोगकर्ताको सहजतालाई मध्यनजर गर्दै भिडिओ स्क्रोलिङमा नयाँ फिचरको परीक्षण गरिरहेको छ ।

‘क्लियर मोड’ नाम दिइएको यो फिचर प्रयोग गर्दा स्क्रिनमा युजर इन्टरफेस देखिँदैन । यसको अर्थ हो, अब प्रयोगकर्ताले टिकटकमा भिडिओ हेर्दा प्रयोगकर्ताको अकाउन्ट नाम, क्याप्सन तथा लाइक, कमेन्ट, फेभरेट र शेयर बटन बिना नै भिडिओ हेर्न सक्नुहुनेछ ।

हाल कम्पनीले यो फिचर सीमित प्रयोगकर्ताको अकाउन्टमा मात्र उपलब्ध गराएको छ । प्रयोगकर्ताले स्क्रिनमा लामो समयसम्म होल्ड गरेपछि आउने अप्सन बक्समा अब ‘क्लियर मोड’ पनि देखिनेछ ।

क्लियर मोड अप्सनमा क्लिक गरिसकेपछि प्रयोगकर्ताले कुनै युजर इन्टरफेस बिना नै खाली स्क्रिनमा भिडिओ हेर्न सक्नेछन् । अहिलेदेखि नै यो फिचरको बारेमा सामाजिक सञ्जालमा सकारात्मक टिप्पणी आउन थालेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४