close

विद्युतीय गाडी ‘नेटा भी’ आज सार्वजनिक हुँदै, अनलाइनबाटै बुक गर्न सकिने

टेकपाना टेकपाना

जेठ २५, २०७९ ११:२८

विद्युतीय गाडी ‘नेटा भी’ आज सार्वजनिक हुँदै, अनलाइनबाटै बुक गर्न सकिने

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले भित्र्याएको विद्युतीय कार नेटा भी आज बुधबार सार्वजनिक हुने भएको छ । चीनको जिजियाङ प्रान्तमा रहेको होजन अटो न्यू इनर्जी भेहिकल कम्पनीसँगको सहकार्यमा सिजीले बिजुली गाडी नेपाल भित्र्याएको हो । यससँगै कम्पनीले गाडीको अनलाइन बुकिङ समेत खुलाएको छ ।

४०७० एमएम लम्बाइ, १६९० एमएम चौडाइ र १५४० एमएम उचाइ रहेको यो कारको ह्वीलवेस २४२० एमएम रहेको छ । त्यस्तै, यसको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ भने टेस्लाको जस्तै डिजाइन भएको यो कार आकर्षक र बोल्ड देखिन्छ ।

यो कारमा की–लेस इन्ट्री सिस्टम, रियर भ्यु क्यामेरा, ‘टीपीएमएस’ (टायर प्रेसर मनिटरिङ सिस्टम), ‘एबीएस’ (एन्टी–लक ब्रेकिङ सिस्टम), हिल स्टार्ट असिस्ट, ड्राइभर/प्यासेन्जर एयरब्याग आदि जस्ता सुरक्षाका फिचर उपलब्ध छन् ।

कारको दुवै छेउमा चार्जिङ पोर्ट राखिएको छ भने त्यसको एक भागमा स्लो चार्जिङ पोर्ट र अर्को भागमा फास्ट चार्जिङ पोर्ट दिइएको छ । यो कार फुल चार्ज गर्न स्लो चार्जरबाट आठ घण्टा लाग्छ । ६० किलोवाटको डीसी फास्ट चार्जरबाट भने २० मिनेटमा ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

गाडीमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध रहेको छ । यसले फुल चार्जमा ३८० किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ । नेटा भीको मूल्य नेपाली बजारमा ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । गाडी सार्वजनिक भएसँगै कम्पनीले गाडीको खरिदमा ६.६ वाटको चार्जर निःशुल्क उपलब्ध गराउने जनाएको ।

त्यस्तै एक वर्षसम्मको बीमा सुविधा समेत निःशुल्क उपलब्ध हुने र गाडीको बाहिर भागमा रहेका र चलाउन नमिल्ने पार्टमा १० वर्ष अथवा दुई लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुने जनाइएको छ । साथै ब्याट्री र मोटरमा आठ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर सम्मको वारेन्टी पाउन सकिने छ ।

कम्पनीले गाडीको खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउने छ । प्रति किलोमिटर ५० पैसा मै यात्रा गर्न सकिने दाबी गरिएको यो गाडी सिल्भर क्लाउड ह्वाइट, स्काइ ब्लु, स्काइ ग्रे, चेरी ब्लुसम पिंक र पोर्सेलिन सायन गरी पाँच फरक रङ्गमा उपलब्ध हुनेछ । पहिलो चरणमा नेटा भी भित्र्याएको कम्पनीले आगामी दिनमा नेटा भी प्रो, नेटा एस समेत नेपाल ल्याउने बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६