काठमाडौं । सीजीनेटका ग्राहकले एक महिनाभर फेयर युसेज पोलिसी (एफयूपी) रेस्ट्रिक्सन बिना अनलिमिटेड इन्टरनेटको स्पिड प्रयोग गर्न पाउने भएका छन् ।
सीजीनेट सार्वजनिक गरेको एक वर्ष पुगेको अवसरमा कम्पनीले आफ्ना ग्राहकलाई इन्टरनेट स्पिडमा एफयूपी लागू नगर्ने घोषणा गरेको हो ।
योसँगै सीजीनेटका ग्राहकले जुन महिनाभर अर्थात् असार १६ गतेसम्म पूर्ण इन्टरनेट स्पिडको अनुभव गर्न सक्नेछन् । यसको अर्थ हो, ग्राहकले अब बिना कुनै गति सीमितता इन्टरनेट प्रयोग गर्न पाउनेछन् ।
नेपालमा सेवा प्रदायकहरुले निश्चित एमबीपीएस स्पिडका प्याकेज अनलिमिटेड इन्टरनेटको रुपमा उपलब्ध गराउँदे आएका छन् । अनलिमिटेड भनिए पनि यी प्याकेज वास्तवमा अनलिमिटेड हुँदैनन् ।
सेवा प्रदायकहरुले आफूले ल्याएको अन्तर्राष्ट्रिय ब्याण्डविथमा स्थानीय सर्भरमा क्याशको रुपमा रहेको ब्याण्डविथ आफ्ना ग्राहकका लागि छुट्याएका हुन्छन् ।
सामान्य घरायसी प्रयोगकर्ताले लिने इन्टरनेट प्याकेजहरु शेयरिङ हुनेगरी तयार पारिएको हुन्छ । यसरी शेयर गरिएको इन्टरनेट कुनै ग्राहकले धेरै प्रयोग गर्दा अन्य प्रयोगकर्ताले औषत इन्टरनेट ब्याण्डविथ समेत नपाउने जोखिम रहन्छ ।
त्यसैले औसतमा एक जना प्रयोगकर्ताका लागि अधिकतम ब्याण्डविथत डेटा छुट्याइएको हुन्छ, जसलाई एफयूपी अर्थात फेयर युसेज पोलिसी भन्ने गरिन्छ ।
यही एफयूपीलाई सीजीनेटले एक महिनाको लागि हटाएको हो । एक महिनासम्म ग्राहकले पूर्ण इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।