close

कोहलपुरमा सञ्चालनमा आयो बाँकेकै पहिलो चार्जिङ स्टेसन

टेकपाना टेकपाना

जेठ २७, २०७९ ९:०

कोहलपुरमा सञ्चालनमा आयो बाँकेकै पहिलो चार्जिङ स्टेसन

काठमाडौं । बाँकेमा विद्युतीय सवारी साधनका लागि पहिलो चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । बीबी इन्टरप्राइजेजले कोहलपुर चौराहा स्थित निर्माण गरेको चार्जिङ प्वाइन्ट सञ्चालनमा आएको हो ।

विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन सुरु गरिए पनि थप भौतिक संरचना निर्माण कार्य जारी रहेको कम्पनीले जनाएको छ । बीबी इन्टरप्राइजेजका सञ्चालक विष्णु खनालले अब चार्जिङ स्टेसनको अभावमा समस्यामा परेका सवारी साधनलाई सहज हुने बताए ।

“अहिले पनि दैनिक सात ओटा विद्युतीय गाडीले सेवा लिइरहेका छन् । अनौपचारिक रूपमा गाडी चार्ज गर्ने र रिफ्रेश सेन्टरका लागि भौतिक संरचना निर्माण कार्य भइरहेको छ,” उनले गोरखापत्रसँग भनेका छन्, “चार्ज गरेको प्रति युनिट १२ रुपैयाँ मात्रै पर्छ ।”

बाँके जिल्लामा रहेका विद्युतीय सवारी साधनका अतिरिक्त कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेश लगायतका सवारी साधन यसबाट लाभान्वित हुनेछन् । त्यस्तै विद्युतीय चार्जिङ स्टेसन कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विस्तार गर्ने योजना समेत रहेको सञ्चालक खनालले बताए ।

विद्युतीय चार्जिङ स्टेसन स्थापनाका लागि बीबी इन्टरप्राइजेजले कोहलपुर नगर विकास समितिको दुई कठ्ठा जग्गा दश वर्षका लागि मासिक २० हजार रुपैयाँ भाडामा लिएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६