close

नेटा भीको मूल्य अरुको अनुपातमा २ लाख सस्तो छ, महँगो भन्नु अफवाह मात्रै होः सीजी

टेकपाना टेकपाना

जेठ २७, २०७९ ८:२६

नेटा भीको मूल्य अरुको अनुपातमा २ लाख सस्तो छ, महँगो भन्नु अफवाह मात्रै होः सीजी

काठमाडौं । चौधरी समूह अन्तर्गतको सीजी मोटर्सले बुधबार नेपाली बजारमा विद्युतीय कार नेटा सार्वजनिक गरेसँगै यसको मूल्यको विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस छेडिएको छ । चिनियाँ कम्पनी होजोन अटोले उत्पादन गरेको यो कारको चिनियाँ मूल्य र नेपाली मूल्यको बीचमा भ्रम सिर्जना गरिएको भन्दै सीजी मोटर्सले त्यसलाई चिर्ने प्रयास गरेको छ ।

सीजी मोटर्सले नेपाली बजारका लागि नेटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ । नेटा भीको मूल्य चीनमा रहेको मूल्यभन्दा नेपालमा धेरै बढी भएको र सीजीले अत्यधिक नाफा लिएको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा आरोप लगाउन थालिएको छ ।

यो विषयमा सीजी मोटर्स र होजोन अटोले संयुक्त रूपमा ध्यानाकर्षण जनाएका छन् । नेपालमा विद्युतीय कारमा आईसी इन्जिनको तुलनामा सरकारले सहुलियत दिएको छ । त्यस बाहेक अन्य सहुलियत भने छैन ।

तर चीनमा भने त्यहाँको सरकारले विद्युतीय कार खरिदमा उपभोक्तालाई प्रत्यक्ष रूपमा नगद अनुदान दिएको कम्पनीको भनाई छ । चीनमा उपलब्ध यस्तो सहुलियत निर्यात हुने कारमा लागू नहुने भन्दै सीजी मोटर्सले नेपाल आइपुग्दा उक्त कार महँगो हुन पुगेको तर्क गरेको छ ।

त्यस्तै चीनमा विद्युतीय कार उत्पादक कम्पनीलाई समेत त्यहाँको केन्द्र तथा प्रदेश सरकारले विभिन्न किसिमका छुट तथा सहुलियत दिने भएकाले उत्पादित वस्तुको मूल्य कम हुने र त्यसको लाभ चिनियाँ उपभोक्तालाई मिल्ने कम्पनीको भनाई छ ।

“उदाहरणको रूपमा जेठ १५ मा सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा नेपालमै कार उत्पादन तथा एसेम्बल गर्ने कम्पनीलाई ५ वर्षसम्म आयकरमा ४० प्रतिशत छुट दिने उल्लेख छ । यसरी दिइने विभिन्न किसिमका छुटले उत्पादक कम्पनीका लागि लागत कम हुने र त्यसको फाइदा उपभोक्तालाई हुन्छ,” सीजी मोटर्सले भनेको छ ।

“यसरी दिइने विभिन्न किसिमका छुटले उत्पादक कम्पनीको लागत कम हुने र त्यसको फाइदा उपभोक्तालाई हुन्छ । तर निर्यात प्रयोजनका लागि भने यस्ता छुटहरू कुनै पनि देशले दिँदैनन् ।” तेस्रो कुरा चीनले कार्बन उत्सर्जन कम गरे वापत विद्युतीय कारमा अतिरिक्त सुविधा समेत दिँदै आएको छ ।

यस्तो सुविधा पनि नेपाल आउने कारले नपाउने सीजी मोटर्सले बताएको छ । “चीनमा बायाँ बाट गुड्ने गाडीहरू प्रचलनमा छन् । नेपाल लगायत अधिकांश एसियाली देशमा दायाँबाट गाडी गुडाउने नियम रहेको हुन्छ ।  यस्तोमा चिनियाँ कम्पनीहरूले दायाँबाट चलाउने गाडी निर्माण गर्न अनुसन्धान र विकासमा अतिरिक्त खर्च गर्नुपर्छ,” सीजी मोटर्सको विज्ञप्तिमा भनिएको छ ।

“यसरी गरिने लगानी समेत कारको लागतमा जोडिन जान्छ । उदाहरणका लागि टेस्लाले उत्पादन गर्ने कारको अनुसन्धान र विकासमा प्रति कार ११ सय अमेरिकी डलर पर्ने तथ्याङ्क छ । त्यसैले दायाँ साइडबाट चलाउने गाडीको लागत जोडिँदा कारको मूल्य केही थपिएको हो ।”

सीजी मोटर्सले नेपाली बजारमा उपलब्ध प्रतिस्पर्धी कारको तुलनामा निटा भीको बजार मूल्य दुई लाख रुपैयाँ कम रहेको दाबी समेत गरेको छ ।

“चीन सरकारले विद्युतीय कारमा दिएको सबै सहुलियत जोड्दा पाँच देखि छ हजार अमेरिकी डलर हुन्छ । यस्ता विषय अहिलेको इन्टरनेटको जमानामा जोकोहीले सहजै गुगल गरेर हेर्न सक्छ,” कम्पनीले अगाडि भनेको छ, “त्यसैले नेटा भीको चिनियाँ मूल्य र नेपालमा तोकिएको मूल्यबारे अनावश्यक भ्रम छर्नुपूर्व चिनियाँ सहुलियत बारे अध्ययन गर्न हामी आग्रह गर्दछौँ ।”

पछिल्लो समय नेपाली बजारमा विद्युतीय कारको उपलब्धता बढ्दै गएको र त्यही अवस्थालाई ध्यानमा राखेर प्रतिस्पर्धी मूल्यमा उच्च प्रविधियुक्त शून्य प्रदुषण निम्त्याउने कार उपलब्ध गराउने लक्ष्य सहित सीजी मोटर्सले होजोन अटोसँग सहकार्य गरिएको उल्लेख छ ।

विभिन्न सामाजिक सञ्जालका माध्यमबाट नेटा भीको मूल्यको बारेमा अफवाह फैलाइएको भन्दै सीजीले उपभोक्तालाई त्यसको पछि नलाग्ने आग्रह गरेको छ । “नेटा भी र होजोन अटो तथा सीजी मोटर्सको बारेमा जानकारी चाहिएमा सिधा सम्पर्क गर्न सबै उपभोक्ता तथा पाठकहरूमा हाम्रो आग्रह छ,” कम्पनीले भनेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६