close

कानून विपरीत काम गरेको भन्दै क्लासिक टेकलाई नियामकको चेतावनी

टेकपाना टेकपाना

असार १, २०७९ १५:४६

कानून विपरीत काम गरेको भन्दै क्लासिक टेकलाई नियामकको चेतावनी

काठमाडौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कानून विपरीत काम गरेको भन्दै इन्टरनेट सेवा प्रदायक क्लासिक टेकलाई चेतावनी दिएको छ ।

प्राधिकरणबाट इन्टरनेट तथा नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र पाएकाे क्लासिक टेकले अर्को इन्टरनेट सेवा प्रदायक एसिया नेट एण्ड कम्युनिकेसनलाई इन्टरनेट ब्याण्डविथ उपलब्ध गराएर शतप्रतिशत मर्मत सम्भार शुल्क असुल गरेको भन्दै प्राधिकरण बोर्डले एक पटकका लागि चेतावनी दिने निर्णय गरेको हो ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ज) अनुसार ग्राहकलाई उपलब्ध गराइएको दूरसञ्चार सेवा कुनै कारणले बिग्रेमा प्राधिकरणले तोकिदिएको स्तर अनुरूप निःशुल्क मर्मत सम्भार गर्नुपर्ने हुन्छ ।

सँगै दूरसञ्चार सेवा अन्तर्गत फिक्स्ड वायर्ड ब्रोडब्यान्ड सेवा प्रदान गरेबापत लाग्ने महसुलमा बढीमा ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लगाउनसक्ने व्यवस्था छ ।

नियमावलीमा भएको यो व्यवस्थाभन्दा बाहिर गएर क्लासिक टेकले शतप्रतिशत मर्मत सम्भार शुल्क असुल गरेको भन्दै नियामकले चेतावनी दिएकाे हाे ।

यसअघि प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम किन कारबाही नगर्ने भनी क्लासिक टेकलाई स्पष्टीकरण माग गरेको थियो । जवाफमा कम्पनीले नियमावली विपरीत शुल्क असुल नगरेको दावी गर्दै कारबाही गर्न नमिल्ने बताएको थियो ।

कम्पनीले एसिया नेटलाई इन्टरनेट ब्यान्डविथ प्रदान गर्नुका साथै सिस्टम एण्ड रेडियस समेत मनिटरिङ गर्ने र उक्त कम्पनीका ग्राहकहरूको फाइबर ब्रेकेज र प्राविधिक समस्या हुँदा क्लासिक टेक आफैंले आफ्नो स्राेतसाधन लगाई मर्मत तथा समस्या समाधान गरिदिने गरी सम्झौता भएको बताएको थियो ।

यसका लागि कम्पनीसँग ‘मनिटरिङ, मेन्टिनेन्स एण्ड टेक्निकल सर्पोट’ का रुपमा छुटै करार सम्झौता भएको कम्पनीले दिएको जवाफमा उल्लेख छ । सोही करार सम्झौता अनुसार मर्मत सम्भार शुल्क लिएको भन्दै क्लासिक टेकले स्पष्टीकरण पेश गरेको थियाे ।

तर, यी दुई कम्पनीबीच भएको करार सम्झौता अनुसार इन्टरनेट ब्याण्डविथ बिक्री गरी जारी गरेको बिल बिजकमा ‘मेन्टिनेन्स तथा सपोर्ट’ शीर्षकमा निजी सेवा प्रदायकबीच भएको छुट्टै करारको आधारमा अलग्गै बिलिङ नभएको पाइएको प्राधिकरणले जनाएको छ ।

यस्तोमा एक पटकको लागि सचेत गराई अब उप्रान्त मनिटरिङ एण्ड टेक्निकल सपोर्टको विषय समेत एउटै सम्झौतामा समावेश गर्न र प्रचलित ऐन, नियम तथा अनुमतिपत्रका शर्तहरू पूर्ण पालना गर्न क्लासिक टेकलाई सचेत गराउने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३