close

नेपाली बजारमा दुई पाङ्ग्रे विद्युतीय सवारी, कुन ब्राण्डको वारेन्टी र रेन्ज कति ?

टेकपाना टेकपाना

असार २, २०७९ १६:४

नेपाली बजारमा दुई पाङ्ग्रे विद्युतीय सवारी, कुन ब्राण्डको वारेन्टी र रेन्ज कति ?

काठमाडौं । नेपाली बजारमा दुई पाङ्ग्रे विद्युतीय सवारीको माग बढ्दाे छ । वायु एवं ध्वनि प्रदूषण नहुने, मर्मत खर्च निकै कम लाग्ने र पेट्रोलियम पदार्थको मूल्य वृद्धिले कुनै असर नगर्ने भएकाले नेपाली उपभाेक्तामाझ विद्युतीय स्कुटर र बाइकमा आकर्षण बढेकाे हाे ।

पेट्रोलको तुलनामा विद्युतमा चार्ज गर्दा निकै कम शुल्क पर्छ । स्कुटर र बाइकका आयातकर्ता एवं व्यवसायीले दैनिक कार्यालय आवतजावत गर्ने विशेषतः युवा जमातलाई ध्यानमा राखी यस्ता सवारी भित्र्याउने गर्छन् ।

माग बढ्ने क्रमसँगै यस किसिमका सवारीमा लाग्ने ब्याट्री क्षमता, कम्पनीले दिने वारेन्टी र अधिकतम कति किलोमिटर गुड्नसक्छ भन्ने जिज्ञासा अधिकांशले गरेको पाइएको छ ।

नेपाली बजारमा पछिल्लो समय १७ बढी ब्राण्डका दुई पाङ्ग्रे सवारीले आफ्नो उपस्थिति बनाएको देखिन्छ ।

अमेरिकी कम्पनी सेगवे नाइटवट ब्राण्डका लागि नेपालको आधिकारिक बिक्रेता आईहब प्राइभेट लिमिटेडले दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले हाल ‘ई-१००’ र ‘ई-१२५’ गरी दुई मोडलका विद्युतीय स्कुटर वारेन्टीसहित बिक्री गरिरहेकाे छ । ३.५ किलोवाट क्षमताको ब्याट्री जडान भएका यी स्कुटरमा कम्पनीले दुई वर्ष वारेन्टीको सुविधा दिएको छ ।

त्यस्तै उपत्यकालाई केन्द्रित गरेर ल्याइएको यी स्कुटरले अधिकतम १३० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

त्यस्तै कोमाकी रेन्जरका लागि नेपालको आधिकारिक बिक्रेता युनिटी ट्रेडिङ कन्सर्नले तीन वर्षको ब्याट्री वारेन्टीसहित विद्युतीय बाइक र स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्दै आएका सवारीमा अधिकतम ३.५ किलोवाट ब्याट्री क्षमता छ ।

यी सवारी एकपटकको पूर्ण चार्जमा अधिकतम १२० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ ।

चिनियाँ स्कुटर ब्रान्ड निउ पछिल्लो समयमा उपत्यकामा निकै गुड्ने गरेको देखिन्छ । ईको इन्फिनिटी प्राइभेट लिमिटेडले आधिकारिक रुपमा निउ ब्रान्डका आठ ओटा ई-स्कुटर नेपाल भित्र्याएको हो ।

कम्पनीले हालसम्म जी-थ्री, गोभा जी-फाइभ, एमक्युआईजीटी, यूक्यूआईजीटी लगायतका मोडलमा विद्युतीय दुई पाङ्ग्रे सवारी बिक्री गर्दै आएको छ ।

कम्पनीले बिक्री गर्ने स्कुटरले ब्याट्री क्षमता अनुसार अधिकतम १२० किलोमिटर रेन्ज दिन्छ । दुई किलोवाट क्षमताको ब्याट्री जडान भएको स्कुटर बिक्री गर्दै आएको कम्पनीले मोडल अनुसार दुईदेखि चार वर्षको वारेन्टी ब्याट्रीमा दिँदै आएको छ ।

सुपर सोको ब्रान्डको दुई पाङ्ग्रे सवारी बिक्री गर्दै आएको डी लाइफ स्टाइलले आफ्ना ग्राहकलाई तीन वर्षसम्मको ब्याट्री वारेन्टी दिँदै आएको छ ।

कम्पनीले बिक्री गर्दै आएको दुई पाङ्ग्रे सवारीमा १.९ देखि २.५ किलोवाट क्षमताको ब्याट्री जडान भएको छ । यसले अधिकतम ७५ देखि दुई सय किलोमिटर रेन्ज दिने कम्पनीकाे भनाइ छ ।

नेपाली बजारमा कालिबर अटो प्रालिले विद्युतीय बाइकका दुई ओटा ब्रान्ड मिकु र दोहानको बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने मिकु ब्रान्डमा अधिकतम तिन किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ भने दोहानमा १.२ किलोवाट क्षमताको ब्याट्री उपलब्ध छ ।

कम्पनीले बिक्री गर्दै आएको दुई ओटै ब्रान्डका उपभोक्तालाई ब्याट्रीमा दुई वर्षको वारेन्टी दिइएको छ ।

त्यस्तै, मिकु बाइकले एकपटकको पूर्ण चार्जमा अधिकतम १३५ किलोमिटर रेन्ज प्रदान गर्दछ भने दोहानले अधिकतम १४० किलोमिटर गुड्छ । 

नेपालमै विद्युतीय बाइक उत्पादन गर्दै आएको यात्री बाइकले हालसम्म दुई ओटा मोडलका सवारी बिक्री गर्दै आएको छ ।

यात्रीले एक पटकको पूर्ण चार्जमा अधिकतम २३० किमि गुड्न सक्ने बाइक बिक्री गर्दै आएको छ । तीन किलोवाट आवर क्षमताको ब्याट्री जडान भएको बाइकमा पाँच वर्षसम्मको वारेन्टी कम्पनीले दिएको छ ।


पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३