काठमाडौं । आईसीटी फाउण्डेसन नेपालको आयोजनामा यही असार ४ र ५ गते (शनिवार र आइतबार) डिजिटल नेपाल कन्क्लेभ आयोजना हुने भएको छ । द सोल्टी काठमाडौंमा आयोजना हुने दुई दिने कार्यक्रममा विभिन्न पाँच देशका ६० भन्दा बढी वक्ता तथा सरोकारवाला सहित आठ सयभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
नेपालमा सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यान्वयनको अवस्था विश्लेषण र भावी कदमबारे बहस गर्न आयोजित कन्क्लेभमा दश ओटा सेसन सञ्चालन हुनेछन् । कन्क्लेभमा ह्वावे सिंगापुरबाट इन्डस्ट्री एक्सपर्ट प्याट्रिक लो, ओपन नेटवर्कका जीएम पल्लव शाह, अमेरिकाबाट पारास्कोमा इङ्कका केन एयरहर्ट लगायतको मुख्य प्रस्तुति रहने छ ।
यसैगरी नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, आईसीटी विज्ञ मनोहर भट्टराई र बैंकर अनिल शाहको समेत प्रस्तुती रहने बताइएको छ ।
कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन् भने कार्यक्रमको विशिष्ट अतिथि र वक्ताको रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहने छन् ।