काठमाडौं । यदि तपाईं गुगल क्रोम प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंका धेरै पासवर्ड गुगल क्रोमले सम्झिरहेको हुन्छ । जसलाई तपाईंले आवश्यक परेको खण्डमा पुनः हेर्न वा एडिट गर्न सक्नुहुन्छ ।
अथवा आफ्नो फोन वा कम्प्युटर कसैलाई प्रयोग गर्न दिनुअघि उसलाई त्यहाँ सेभ भएका पासवर्डबारे जानकारी नहोस् भन्ने विचारले हटाउन चाहनुभएको हुनसक्छ ।
गुगल क्रोम वा अन्य ब्राउजरमा भएका पासवर्ड हेर्न वा एडिट गर्न सहजै सकिन्छ । आज हामी विभिन्न ब्राउजरमा सेभ भएका पासवर्ड कसरी हेर्न, एडिट गर्न वा डिलिट गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौं ।
गुगल क्रोममा सेभ भएका पासवर्ड यसरी हेर्नुहोस्
हामीले यहाँ विभिन्न ब्राउजरमा सेभ भएका पासवर्ड हेर्ने तरिकाबारे जानकारी दिइरहँदा पहिले के विचार गर्नुहोस् भने तपाईंले कुनै पनि वेबसाइटमा लगईन गर्दा त्यहाँ ब्राउजरले अकाउन्टको पासवर्ड सेभ गर्ने अनुमति माग्छ ।
यदि तपाईंले अनुमति दिनुभएको छ भने तपाईंको पासवर्ड तपाईंले प्रयोग गरिरहेका ब्राउजरमा सेभ भएको हुन्छ । यसरी सेभ भएको पासवर्ड हेर्न, एडिट गर्न वा डिलिट गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।
-सबैभन्दा पहिले क्रोम ब्राउजर खोल्नुहोस् ।
-त्यसपछि माथि दायाँपट्टि देखिएको तीनवटा डटमा क्लिक गर्नुहोस् ।
-त्यसपछि अफर टु सेभ पासवर्डलाई इनेबल गरेर तलतिर जानुहोस् ।
-त्यहाँ तपाईंले सेभ भएका हरेक अकाउन्ट युजरनेम र पासवर्ड देख्न सक्नुहुन्छ । पासवर्डको ठाउँमा डट देखाइएको हुन्छ त्यसपछि तपाईंले आई आइकन (आँखाको चिन्हमा) क्लिक गर्नु भयो भने सेभ भएका पासवर्ड देख्न सक्नुहुन्छ ।
-ती पासवर्डलाई एडिट गर्नुपर्यो वा डिलिट गर्नु पर्यो भने आई आइकनको छेउमा रहेको तीनवटा डटमा क्लिक गर्नुहोस्
-त्यहाँबाट तपाईंले पासवर्ड रिमुभ गर्न वा एडिट गर्न सक्नुहुन्छ ।
त्यस्तै तपाईं ब्रेभ ब्राउजर प्रयोग गर्नु भएको छ भने पनि पासवर्ड हेर्ने तरिका उही नै रहेको छ । तर ब्रेभमा अटोफिल अप्सन माथि नै नदेखिन सक्छ । त्यसलाई स्क्रोल गरेर तलतिर रहेको एडिस्नल सेटिङमा जान सक्नुहुन्छ ।
ब्राउजरमा सेभ भएका पासवर्ड हेर्न किन आवश्यक छ भन्ने प्रश्न आउन सक्छ । कतिपय अवस्थामा हामीलाई विभिन्न वेबसाइटमा प्रयोग भएका पासवर्ड याद नहुन सक्छ ।
हामीलाई सामान्यतः सामाजिक सञ्जाल वा गुगल अकाउन्टका पासवर्ड मात्र याद हुने गर्छ । अन्य वेबसाइटमा भएका पासवर्ड त्यति प्रयोगमा नआउन सक्छन् । जसले गर्दा हामीले पछि आवश्यक परेको खण्डमा हेर्न सक्छौँ ।
त्यस्तै कतिपय अवस्थामा आफ्नो फोन वा कम्प्युटर केही समयका लागि अन्य व्यक्तिलाई दिन पर्ने अवस्था आउन सक्छ । यदि उनीहरूलाई पोन वा कम्प्युटरको पासवर्ड थाहा भएको खण्डमा उनीहरूले सो पासवर्डको दुरुपयोग गर्न सक्छन् ।
त्यसैले पहिले नै ब्राउजरमा सेभ भएका संवेदनशील अकाउन्टका पासवर्ड हटाउनुपर्ने हुन्छ ।