काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले नेपाली बजारमा चार नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । नेपालका लागि अनरको आधिकारिक बिक्रेता सेल्ट्रन नेपाल प्रालिले अनर एक्स७, एक्स८, एक्स९ र अनर ५० लाइट भित्र्याएको हो ।
सार्वजिनक भएका स्मार्टफोनमध्ये अनर एक्स७ मा ६.७४ इन्चको फुल भ्यु लिक्विड क्रिस्टल डिस्प्ले छ । क्वालकम स्न्यापड्रागन ६८० चिपसेट रहेको फोनमा ४ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज दिइएकाे छ ।
फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ, जसले एकै चार्जमा २० घण्टासम्म अनलाइन भिडिओ स्ट्रिमिङ वा ४९ घण्टा फोन कलको सुविधा दिने कम्पनीको दाबी छ ।
२२.५ वाट सुपर चार्ज भएको फोनमा फिङ्गरप्रिन्ट सेन्सर, ग्र्याभिटी सेन्सर, एम्बियन्ट लाइट सेन्सर, कम्पासका लगायतका विशेषता छन् ।
त्यस्तै फोनमा ४८ मेगापिक्सेलकाे मुख्य क्यामेरा, ५ मेगापिक्सेलकाे वाइड एंगल, २ मेगापिक्सेलको सेन्सिङ म्याक्रो र २ मेगापिक्सेलको सेन्सिङ बोके क्यामेरा रहेको छ ।
कम्पनीले यस फोनको मूल्य नेपाली बजारमा २४ हजार ९९० तोकेको छ ।
त्यस्तै कम्पनीले ६.७ इन्चको फुलभ्यु डिस्प्लेयुक्त अनर एक्स८ पनि सार्वजनिक गर्ने भएको छ ।
अनर एक्स८ मा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । त्यस्तै ब्याक क्यामेरामा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलकाे वाइड एंगल २ मेगापिक्सेलको सेन्सिङ म्याक्रो र २ मेगापिक्सेलको सेन्सिङ बोके क्यामेरा रहेको छ ।
क्वालकम स्न्यापड्रागन ६८० चिपसेटमा आधारित फोन ६ जीबी र १२८ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध छ । ४००० एमएएच ब्याट्री क्षमता भएको यस फोनले २२.५ वाट सुपर चार्ज सपोर्ट गर्छ ।
यस फोनको मूल्य नेपाली बजारमा २९ हजार ९९० रहेको छ ।
त्यस्तै कम्पनीले ६६ वाट चार्जिङ सिस्टम भएकाे अनर एक्स९ पनि सार्वजनिक गरेको छ । याे फोनमा ४८०० एमएएच क्षमताको ब्याट्री रहेको छ । ६.८१ इन्चको अनर फुलभ्यु डिस्प्ले रहेकाे फोनमा क्वालकम स्न्यापड्रागन ६८० चिपसेट रहेको छ ।
८ जीबी र्यामयुक्त फोनमा १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ । यस फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलकाे वाइड एंगल, २ मेगापिक्सेलको सेन्सिङ म्याक्रो र २ मेगापिक्सेलको सेन्सिङ बोके क्यामेरा रहेको छ ।
कम्पनीले यस फोनको मूल्य नेपाली बजारमा ३८ हजार ४९० रुपैयाँ तोकेको छ । साथै अनरले अर्को स्मार्टफोन अनर ५० लाइट पनि सार्वजनिक गरेको छ ।
६.६७ इन्च फुल भ्यु डिस्प्ले भएको यस फोनमा ८ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरज रहेको छ ।
क्वालकम स्न्यापड्रागन ६६२ जिपसेटद्वारा सञ्चालित यस फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरासहित ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रावाइड, २ मेगापिक्सेलको सेन्सिङ म्याक्रो र २ मेगापिक्सेलको सेन्सिङ बोके क्यामेरा रहेको छ ।
४३०० एमएएच ब्याट्री क्षमता भएको यो फोनले ६६ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने कम्पनीले जानकारी दिएको छ ।
यो फोनको नेपाली मूल्य ३४ हजार ९९० रुपैयाँ रहेको छ ।