close

कसरी प्रयाेग गर्ने इन्स्टाग्राम रिल्स ?

टेकपाना टेकपाना

असार १५, २०७९ १६:३

कसरी प्रयाेग गर्ने इन्स्टाग्राम रिल्स ?

काठमाडौं । इन्स्टाग्रामले स्थापनाकालदेखि आफूलाई फोटोग्राफी प्लेटफर्मका रूपमा विस्तार गर्दै आइरहेको छ । याे एपमा अहिले प्रयाेगकर्ताले फोटो/भिडिओसम्बन्धी विभिन्न कन्टेन्ट अपलोड गर्न सक्छन् ।

कम्पनीले २०२० अगस्टमा रिल्सलाई आफ्नो प्लेटफर्मा समावेश गरेको थियो । नेपालमा भने यो फिचर छिट्टै सार्वजनिक हुने अनुमान गरिएकाे छ ।

छोटा-भिडिओ सार्वजनिक गर्न सकिने माध्यम बनेको टिकटकको सफलतासँगै इन्स्टाको रिल्स पनि निकै परिचित हुँदै गएको छ ।

रिल्स आफ्ना फलोअरबीच मात्र नभई इन्स्टाग्राम कम्युनिटीभित्रका धेरैमाझ पुग्ने भएकाले यसको लोकप्रियता बढेको छ ।

यदि तपाईं इन्टाग्रामको रिल्ससँग परिचित हुनुहुन्न भने यो जानकारी तपाईंका लागि उपयुक्त हुनसक्छ ।

के हो त इन्स्टाग्राम रिल्स ?

अधिकतम ९० सेकेन्डका क्लिप राख्न मिल्ने शर्ट भिडिओ शेयरिङ प्लेटफर्म हाे, इन्स्टाग्राम रिल्स । यसमा तपाईंले आफ्नै अडियो, रिल्समा चर्चित अडियो, इफेक्ट्स लगायत अन्य थुप्रै आकर्षक फिचरहरू प्रयोग गर्न सक्नुहुन्छ ।

इन्स्टाग्राम रिल्स र इन्स्टाग्राम स्टोरीबीच के भिन्नता छ ?

इन्स्टाग्राम रिल्स र इन्स्टाग्राम स्टोरी उही प्रकृतिका कन्टेन्ट हुन् । तर, त्यसमा केही महत्त्वपूर्ण भिन्नता रहेक छन् । स्टोरी फोटो वा भिडिओ दुवैमा हुन्छन् भने रिल्समा भिडिओ मात्र समावेश हुन्छ ।

इन्स्टाग्राम रिल्स १५ देखि ९० सेकेन्डसम्मको बनाउन सकिन्छ । तर, स्टोरी १५ सेकेन्डको मात्र हुने गर्छ । यदि बढीको छ भने त्यो १५ सकेन्डको अन्तरमा ट्रिम (टुक्रिनु) भई अपलोड हुनेगर्छ ।

रिल्स तपाईंले डिलिट नगरेसम्म तपाईंको अकाउन्टमा रहिरहन्छन् भने स्टोरी अपलोड गरेको २४ घण्टासम्म पब्लिक हुन्छन् भने त्यसपछि अर्काइभमा बस्ने गर्छन् जो पब्लिकले देख्दैनन् । तपाईंले आफूले बनाएको रिल्स स्टोरीमा समेत अपलोड गर्न सक्नुहुन्छ ।

कस्तो अवस्थामा इन्स्टाग्राम रिल्स प्रयोग गर्ने ?

यदि तपाईं कुनै पनि सामग्री प्रबन्धन गर्न चाहनुहुन्छ वा भनौं कुनै पनि भिडिओ कन्टेन्ट लामो समयसम्म मानिसहरूले देखुन् भन्ने चाहनुहुन्छ भने इन्स्टाग्राम रिल्स तपाईंका लागि उपयुक्त हुन्छ ।

त्यस्तै आफ्नो कन्टेन्टका माध्यमबाट फलोअर बढाउन चाहेको खण्डमा पनि इन्स्टाग्राम रिल्स प्रयोग गर्न सकिन्छ । तपाईंले बनाएका रिल्स केसँग सम्बन्धित छन् भन्ने कुराले कति अडियन्ससम्म पुग्ने भन्ने कुरा निर्धारण गरेको हुन्छ ।

त्यसैले तपाईंको रिल्स ‘एक्सप्लोर’ ट्याबमार्फत सम्बन्धित दर्शकको फिडमा पुग्ने गर्छ । रिल्स अपलोड गर्दा बिहान वा दिउँसोको समय छनौट गर्दा उपयुक्त हुन्छ ।

इन्स्टाग्राम रिल्स टिकटकभन्दा कसरी फरक छ ?

टिकटक र रिल्समा धेरै कुरा समान हुने गर्छ । तपाईंले एउटै कन्टेन्ट दुवै प्लेटफर्ममा प्रयोग गर्न सक्नुहुन्छ । दुवैमा समान डाइमेन्सनका भिडिओ हुने गर्छन् । जसका माध्यमबाट प्रयोगकर्ता कुनै एक प्लेटफर्ममा परिचित भएको खण्डमा दुवैका लागि उपयुक्त हुने कन्टेन्ट निर्माण गर्न सक्छन् ।

धेरै कुराहरू समान भएपनि यी दुई प्लेटफर्ममा केही कुरामा भने भिन्नता छ । टिकटकका माध्यमबाट तपाईंले आजका मितिसम्म बढीमा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्नुहुन्छ ।

तर, रिल्सबाट बढीमा ९० सेकेन्डको भिडिओ अपलोड गर्न सकिन्छ । टिकटकमा इन्स्टाग्रामको भन्दा बढी अडियो कन्टेन्ट समावेश छन् । जसले गर्दा तपाईंले टिकटकमा देखेका भाइरल अडियो इन्स्टा रिल्समा कमै देख्न सक्नुहुन्छ ।

इन्स्टाग्राम रिल्स कसरी बनाउन सकिन्छ ?  

यो फिचर नेपालमा सञ्चालन नभइसकेकाले तपाईंले तत्काललाई रिल्स अपलोड गर्न सक्नुहुन्न । यदि कसरी अपलोड गर्न सकिन्छ भन्ने जिज्ञासा लागेमा तपाईंले तलको प्रक्रिया हेर्न सक्नुहुन्छ ।

  • सबैभन्दा पहिले इन्स्टाग्राम खोल्नुहोस् ।
  • त्यसपछि होमपेजमा जतापट्टि रहेको ‘+’ आइकनमा ट्याप गर्नुहोस् ।
  • त्यहाँ पोस्ट, स्टोरी र लाइभको मात्र अप्सन देखिएको हुन सक्छ । यदि नेपालमा रिल्स सञ्चालनमा आयो भने त्यहाँ रिल्सको अप्सन पनि देखिनेछ ।

त्यसबाट तपाईंले टिकटकमा जस्तै ग्यालरीको भिडिओ अपलोड गर्न सक्नुहुन्छ, भिडिओमा फिल्टर प्रयोग गर्न सक्नुहुन्छ, भिडिओमा कसैको आवाज वा म्युजिक प्रयोग गर्न सक्नु हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३